११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये म्याग्दीका उत्कृष्ट २० जना कृषकहरु शनिवार पुरस्कृत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजना र कृषि विकास कार्यालयसँगको समन्वय तथा सहकार्यमा सञ्चालित कृषि मेला प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट २० जना कृषकहरुलाई छनोट गरेर पुरस्कृत गरिएको हो ।

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा सञ्चालित कृषि मेला प्रदर्शनीमा अन्य तरकारी बाली समूह, फलफूल, जरे तथा गानो बाली, विविध र काउली बाली समूह गरी कुल ५ वटा विधामा ४ जनाको दरले उत्कृष्ट कृषकहरु छनोट गरी पुरस्कृत गरिएको कृषि विकास कार्यालय म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बाँस्तोलाले बताउनुभयो । उत्कृष्ट कृषकहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी क्रमशः नगद २५ सय, दुईहजार, १५ सय र एकहजार रुपैयाँको दरले नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्कृष्ट कृषकहरुलाई वरिष्ठ कृषि विकास अधिकृत बाँस्तोलासहित म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले प्रमाणपत्र र नगदसहितको पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कृत हुने कृषकहरुमा अन्य तरकारी बालीतर्फ जिल्लाको बेनी नगरपालिका–२ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्की, रघुगंगा गाउँपालिका–३ का जीतबहादुर खत्री, बेनपा–६ का श्रीलाल रिजाल र अन्नपूर्ण–६ घारका राम बरुवाल रहनुभएको छ ।

यसैगरी फलफूल बाली समूहतर्फ रघुगंगा–१ का विरबहादुर तिलिजा, मंगला–२ का श्रीकृष्ण पौडेल, अन्नपूर्ण–३ का दुर्गादत्त सुवेदी र बेनपा–१ का ईश्वर सुवेदी तथा जरे एवं गानो बाली समूहतर्फ रघुगंगा–१ का ढकबहादुर पुन, ८ नम्बर वडाका बिमला शेरपुन्जा मगर, मंगला–२ का छमलाल पौडेल र बेनपा–५ को आदर्श कृषि फर्म तथा विविधतर्फ बेनपा–९ का भीमबहादुर सुवेदी, धवलागिरि–७ का ओमबहादुर थापा, बेनपा–४ का डिल केसी र बेनी हुलाकचोकका साधनाकुमारी श्रेष्ठ पुरस्कृत हुनुभएको कृषि विकास कार्यालयले जनाएको छ ।

त्यस्तै काउली बाली समूहतर्फ बेनपा–१ का तेजबहादुर बरुवाल, मंगला–२ का हरिकृष्ण अधिकारी, बेनपा–२ खबराका नारायणबहादुर कार्की र १ का रुद्रबहादुर थापा पुरस्कृत हुनुभएको छ । जिल्लाको ग्रामीण भेगका स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि, तरकारी र फलफूल बालीको प्रवद्र्धन तथा प्रचारप्रसार गरी किसानहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो । कृषकहरुले मेलाको अवसरमा आफूहरुको उत्पादनलाई प्रदर्शनीका साथै छनोट गरी पुरस्कृत गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् ।

म्याग्दीको बेनीमा गएको बुधवारदेखि ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो । जिल्लामा म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिले दुई वर्षको अन्तरमा माघेसङ्क्रान्ति मेला लगाउँदै आएका छन् । मेला, महोत्सवको अवसर पारेर कृषि मेला प्रदर्शनीलाई पनि निरन्तरता दिइएको छ ।











