हरिकृष्ण गौतम
म्याग्दी जिल्लामा पहिलोपटक आयोजित नयाँ ब्यवसाय सञ्चालन सोच प्रस्तुतीकरण प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी छात्रा मनिका श्रेष्ठ विज्ञप्ती सुबेदीले सांस्कृतिक पोशाक एवम् फेसन बुटिक ब्यवसाय गर्ने योजना सुनाइन् । ११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सवमा म्याग्दी जिल्ला कला र संस्कृतिको धनी भएकाले पर्यटक तथा विभिन्न कार्यक्रममा सांस्कृतिक पोशाकमार्फत पर्यटन प्रर्बधन गर्ने मनिका र विज्ञप्तीले ब्यवसायिक योजना सुनाईन् ।

पहिलोपटक म्याग्दीमा यूवाहरुलाई ब्यवसायिक योजना प्रस्तुत गर्ने प्रतियोगितामा यूवा प्रविण पौडेलले घरबास तथा स्याउ खेतीको योजना सुनाए । बेनी नगरपालिका–५, पुलाचौरमा होमस्टे तथा ब्यवसायिक स्याउ खेतीमा लगानी गरिसकेका पौडेलले जिल्लाभित्र उच्च घनत्वको स्याउ उत्पादन सहित अन्य अर्गानिक कृषि खेतीका लागि करिब ७५ लाख लगानी सहितको ब्यवसायिक योजना प्रस्तुत गर्दा प्रशंसा समेत भयो ।माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्स मलिकले हर्वल चियाको योजना प्रस्तुत गरे । खुल्लामञ्चमा आयोजित प्रतियोगितामा सहभागिमध्ये मनिका र विज्ञप्ती, प्रविण तथा प्रिन्सको ब्यवसायिक योजना उत्कृष्ट भएको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले बताए ।


उक्त व्यवसायिक योजना प्रतियोगितामा ८ जना सहभागीले आ–आफ्ना उद्यम योजना प्रस्तुत गरेका थिए। म्याग्दी जिल्लामा उद्यम ब्यवसायको सम्भावना विषयक प्रतियोगिता नाम दिइएब्कोमा उत्कृष्ट घोषित एक समुह सहित तीनै ब्यवसायिक योजनालाई जनही नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताका उत्कृष्ट भएकाको ब्यवसायिक योजनामा लगानीको वातावरण बनाउने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

उनले मेलाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समेत सहुलियत कर्जा उपलब्ध गराउने सहितको प्रतिबद्धता समेत जनाएको बताए । युवालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको भनाई छ । युवा विदेश पलायन भइरहेको सन्दर्भमा उद्यम योजना सुनेर हौसला प्रदान गर्ने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई उद्यमशिलतामा आधारित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।









