शिब बोहोरा
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी गाउँ-गाउँमा बढ्न थालेको छ। निर्वाचनलाई भयरहित र व्यवस्थित बनाउन सरकारले निर्वाचन प्रहरी (म्यादी) को छनोट प्रक्रिया सुरु गरेसँगै जिल्ला प्रहरी कार्यालयमा उत्साहजनक भिड देखिएको छ।जिल्ला प्रहरी कार्यालयमा म्याग्दीम बिहानैदेखि ‘निर्वाचन प्रहरी’ (म्यादी) बन्नेहरूको ठुलो भिड लागेको छ। त्यो भिडमा २०-२२ वर्षका तन्नेरीहरू मात्र छैनन्, घरको गर्जो टार्न र परिवारको भविष्य कोर्न हिँडेका पाका अनुहारहरू पनि छन्।
त्यही भिडको अग्रपंक्तिमा भेटिनुभयो, बेनी नगरपालिका-६ चुत्रेनीका ४७ वर्षीय मीन बहादुर कटुवाल उहाँको अनुहारमा उमेरले थपेका रेखा र हातमा ठेला परेका दागहरू सङ्गै काँधमा परिवारको भारी छ र मनमा एउटा सानो आशा लिएर निर्वाचन प्रहरीको छनोटमा लाईनमा हुनुहुन्छ छ उहाँ भनु हुन्छ छनोटमा परे ४० दिनको कमाइले घरखर्चमा अलि राहत हुन्थ्यो।”

अक्षर नचिने पनि भविष्य चिनेका मीन बहादुर २०३५ सालमा म्याग्दीको मध्यम वर्गीय परिवारमा जन्मिएका मीन बहादुरको बाल्यकाल स्कुलको आँगनमा होइन, मेलापात र वनपाखामा बित्यो। आर्थिक अभावकै कारण उनले कहिल्यै क ख रा पढ्न पाएनन्। आज उनी ल्याप्चे (औठा छापा ) लगाउँछन्, तर उनले जीवनको त्यो पाठ पढेका छन् जुन ठुला विश्वविद्यालयमा सिकाइँदैन।”पढ्न पाइएन, अक्षर चिन्न सकिएन,” मीन बहादुर भन्छन्, “तर नपढे पनि काम गर्न लाज मान्नुहुँदैन भन्ने कुरा भने बेलैमा बुझियो।”
मीन बहादुरको घरमा ५ जनाको परिवार छ । पछिल्लो दुई दशक उनले माटोसँग खेलेरै बिताए। बिहानको झुल्के घामदेखि साँझको सितलसम्म उनी खेतबारीमै पसिना बगाउँछन्। त्यही कृषि कर्मबाटै उनले ५ जनाको परिवारलाई खुवाए, लगाए र छोराछोरीलाई शिक्षा दिए।
उनको सङ्घर्षको सबैभन्दा ठुलो प्रतिफल हो-जेठो छोराको वैदेशिक यात्राको लागि युरोप पठाए छोराको बिहे गरिदिए । उनी एउटा सामान्य किसान, जसले आफैँ अक्षर चिन्न सकेन, उनले आफ्नो पौरखकै भरमा जेठो छोरालाई वैदेशिक रोजगारीका लागि युरोपको साइप्रस पठाउन सफल भए। “आफूले नपढे पनि छोराको भविष्य बनोस् भन्ने चाहना थियो,” उनी भावुक हुँदै भन्छन्, “कृषि गरेर जोगाएको अलिअलि पैसा र केही ऋणधन गरेर जेठोलाई विदेश पठाएँ। अहिले ऊ त्यहाँ काम गर्दै छ।”
जेठो छोरा विदेशमा भए पनि मीन बहादुरको जिम्मेवारी सकिएको छैन। कान्छो छोरा भर्खरै कक्षा ११ मा पढ्दै छन्। छोराको पढाइ खर्च, कापी-कलम र घरको दैनिक रासनको जोहो गर्न उनलाई अझै पनि उत्तिकै मेहेनत गर्नुपर्ने बाध्यता छ। त्यसैले त ४७ वर्षको उमेरमा पनि उनी तन्नेरीहरूसँगै लाइनमा बसेका छन्। “छोराहरू ठुला भए, तर बाबुको धर्म त पालना गर्नैपर्यो नि,” उनी भन्छन्, “चुनावमा म्यादी प्रहरी हुन पाइयो भने केही नगद हात पर्छ। त्यसले कान्छो छोराको पढाइ र घरको गर्जो टार्न धेरै सजिलो हुनेछ।”
जिल्ला प्रहरी कार्यालयको मैदानमा लाइनमा बस्दा मीन बहादुरको अनुहारमा एउटा छुट्टै गम्भीरता देखिन्थ्यो। सायद उनी आफ्नो खेतबारीमा उम्रिएका अन्न र घरमा आश गरिरहेका परिवारको बारेमा सोचिरहेका थिए। उमेरले ५ दशक छुन लाग्दा पनि उनको जाँगर भने २० वर्षे ठिटोको भन्दा कम छैन।नेपालमा निर्वाचन आउँदा धेरैलाई राजनीतिक पदको लोभ हुन्छ, तर मीन बहादुर जस्ता आम नागरिकका लागि भने यो एउटा सानो रोजगारीको अवसर हो।
जहाँ पसिना बगाएर आफ्नो परिवारको ओठमा हाँसो छर्न पाइयोस्। घरको आर्थिक अभावलाई आफ्नो मेहेनतले जित्दै आएका मीन बहादुरको यो ‘निर्वाचन प्रहरी’ बन्ने धोको पूरा होला कि नहोला? त्यो त नतिजाले नै बताउनेछ। तर, उनको सङ्घर्षको कथाले भने पक्कै पनि भन्छ “मेहेनत गर्नेका लागि उमेर र अभाव कहिल्यै बाधक बन्दैन।”








