---Advertisement---

११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव : ५० हजार दर्शकहरुबाट मेलाको अवलोकन र साढे तीन करोडको कारोबार

On: January 19, 2026 2:42 PM
Follow Us:

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दैै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित ११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनी सकिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजनामा जिल्ला सदरमुकाम बेनीको खुलामञ्चमा सञ्चालित माघेसङ्क्रान्ति मेला–२०८२ शनिवार समापन गरिएको हो ।

यसपटक मेलाको अवसरमा खुल्ला सामूहिक लोकनृत्य प्रतियोगिता, म्याग्दी जिल्लामा रहेका पर्यटकीय स्थलहरुको विद्यालयस्तरीय खुल्ला पेन्टिङ प्रतियोगिता, म्याग्दीमा नयाँ व्यवसाय सञ्चालनको योजना प्रस्तुतीकरण, महिला र पुरुषको लठो तान्ने, छेलो फ्याँक्ने, खाना खाने, कृषि उपजहरुको प्रदर्शनी, महिला उद्यमी प्रतियोगिता, कला कार्यशाला, अन्धनिशान र स्थानीय उत्पादनहरुको स्टल प्रदर्शनीलगायत रहेका थिए । यसैगरी मेलामा स्थानीय उत्पादनहरु, होटल तथा रेष्टुरेण्ट र व्यापारिक गरेर ५० वटा खरिद–बिक्री सम्बन्धी स्टलहरु राखिएको थियो ।

गएको बुधवारदेखि शनिवारसम्म चलेको मेलामा हरेक दिन साँझमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुद्वारा आ–आफ्नो साङ्गीतिक प्रस्तुती, विभिन्न संघसंस्था, विद्यालय र कलाकारबाट लोकसंस्कृति एवं मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुतीकरण गरिएको थियो । मेलामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीमार्फत कलाकारहरुले लाइभ दोहोरी समेत गाएका थिए । त्यस्तै माघेसङ्क्रान्ति मेलाको अवसरमा खाना महोत्सव गर्नुका साथै कृषि मेला प्रदर्शनी सञ्चालन गरिएको थियो । कृषि प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट २० जना कृषकहरुलाई छनोट गरेर पुरस्कृत गरिएको थियो ।

चार दिनसम्म बेनीको खुलामञ्चमा लागेको यसपालिको माघेसङ्क्रान्ति मेलामा म्याग्दीसहित पर्वत, बागलुङ र पोखरालगायत स्थानबाट आएका करिब ५० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मेला अवधिभरमा खुलामञ्चमा रहेका व्यापारिक स्टल तथा होटल र रेष्टुरेण्टमा गरेर तीन करोड ५० लाख रुपैयाँको कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ । मेलाको अवसरमा स्टलबाहेक बाहिर बजारका होटल तथा रेष्टुरेण्ट र पसलहरुमा पनि कारोबार भएको थियो । निजी क्षेत्रको अगुवाइमा जिल्लाको पर्यटन प्रवद्र्धन, आर्थिक क्षेत्र चलायमान बनाउने र कला, संस्कृति, भेषभूषाको प्रदर्शनी एवं प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित मेला जिल्लास्थित सबै सरोकारवालाहरुको सहयोगले सफल भएको मूल संयोजक तथा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।

यसपटक म्याग्दीको बेनीमा ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो । जिल्लामा म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिले दुई वर्षको अन्तरमा माघेसङ्क्रान्ति मेला लगाउँदै आएका छन् । मेला, महोत्सवको अवसर पारेर कृषि मेला प्रदर्शनीलाई पनि निरन्तरता दिने गरिएको छ ।

Leave a Comment