आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति युवराज रोका मगरलाई उम्मेदवार बनाउने भएको छ । बेनी नगरपालिका –४,निवासी युवा नेता रोका मगरलाई उम्मेदवार बनाउन पार्टी केन्द्रले टिकट पठाएको जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगानाले बताए । जिल्लाले सभापति रोकाको मात्र एकल नाम सिफारिस गरेकोमा अन्य दुई जनाले अनलाइन मार्फत उम्मेदवारी दावी पेश गरेका थिए ।
पछिल्लो समय देशव्यापी रास्वपाप्रति नागरिक भरोसा सहित आकर्षण बढेकाले ठूला दललाई चुनौती दिदैं जित्ने गरी उम्मेदवार मैदानमा आएको उपसभापति छवी आचार्यको भनाई छ । रास्वपा गठन गरेपछि जिल्लामा सुस्त रहेको संगठन विस्तारलाई गति दिएका सभापति रोकाले पहिलोपटक चुनावी मैदानमा होमिदा यूवापुस्ताको मतको पहिलो रोजाइमा पर्ने बताएका छन् । उनले संगठन विस्तार नगरेका स्थानमा पनि मतदाता रहेकाले चुनावी अभियानसँगै हरेक वडामा निर्वाचन परिचालन समिति बनाउने बताउनुभयो ।
उच्च शिक्षा हासिल गरेपछि बैदेशिक रोजगारीमा आएर फर्किनुभएका रोका स्थानीय यूवा क्लब अध्यक्ष देखि विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक क्रियाकलापमा समेत सक्रिय सहभागी हुँदै आएका छन् ।
म्याग्दीका बेनी नगरपालिकाबाट नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादीबाट धुब्र घिमिरे र रास्वपाका सभापति रोका, रघुगंगा गाउँपालिकाबाट नेपाली कांग्रेसका केबी भण्डारी, धवलागिरी गाउँपालिकाबाट नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुन थापाको उम्मेदवारी टुंगो लागेको छ ।








