राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले म्याग्दीबाट डम्बर सुबेदीलाई उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत् आज (मंगलबार) उम्मेदवारी दर्ताका कार्यसूची रहेकाले राप्रपाले उम्मेदवार बनाएको हो । बेनी नगरपालिका वडा नं २ खवरा निवासी सुबेदीको नाम टुंगो लागेको राप्रपाका जिल्ला सदस्य देबेन्द्र घिमिरेले बेनीअनलाइनलाई बताए ।
राप्रपा म्याग्दीका संस्थापक भिमप्रसाद गौचनको समेत रोजाइका उम्मेदवार सुबेदीलाई उम्मेदवार बनाएसँगै पहिलोपटक प्रत्यक्षतर्फ गौचन परिवार बाहिरबाट उम्मेदवार बन्ने अवसर सुबेदीलाई मिलेको छ । यसअगाडीका सबै निर्वाचनमा भिमप्रसाद गौचन र जगत गौचन नै प्रत्यक्षतर्फ उम्मेदवार बन्ने गरेका थिए । राप्रपाका उम्मेदवार सुबेदीले जेनजी आन्दोलनको मर्म र भावना अनुसार पार्टीले उम्मेदवार बनाएकोमा धन्यवाद दिदैं चुनावी प्रचारप्रसार सुरु भएको बताए ।










