आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गरे लगत्तै पश्चिम म्याग्दीमा चुनावी प्रचारप्रसारमा लाग्नुभएका महावीर पुन चुनावी एजेण्डासँगै आफ्नो आत्मकथा समेत धमाधम बिक्री गर्नुभएको छ ।
हातमा किताव बोकेर भाषण गदैं धवलागिरी गाउँपालिका–३, मुनामा पुग्नुभएका निवर्तमान शिक्षामन्त्री पुनले गाउँपालिकालाई ५० हजार बराबरको पुस्तक, धौलागिरी मावि मुनालाई २० हजारको पुस्तक बिक्री गर्नुभयो । मनोनयपत्र दर्ताकै क्रममा भाषणसँगै आत्मकथा समेत बिक्री गर्ने योजना सुनाउनुभएका पुनले धौलागिरी गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर आफ्नो चुनावी अभियान सुरू गरेको बताउनुभयो ।
‘किताबको पैसा चुनावको खर्च नभई विरगंजमा रहेको कारखानाका लागि प्रयोग हुन्छ, मेरो भाषण पनि सुन्नुहोस्, किताब पनि किन्नुहोस’ चुनावी अभियानमा मुना पुग्नुभएका पुनले भन्नुभयो । काठमाण्डौबाट उम्मेदवारी दर्ताका लागि बेनी आउने क्रममा करिब ३ सयबढी पुस्तक लिएर आउनुभएका पुनले मतदातालाई पुस्तक समेत बिक्री गरेको नगद कारखानाको बैंक खातामा जम्मा गरिने सहयोगी चित्र तिलिजाको भनाई छ ।

चुनावी अभियानमा म्याग्दीमा मात्रै नभई देशभर पुगेर मन्त्री पदबाट राजिनामा दिनुको कारण तथा आफ्नो उम्मेदवारी सुनाउने पुनको योजना छ । शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको पुनको भनाई छ ।

शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने र अहिलेको सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेको पुनको गुनासो छ । राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली अगाडी बढ्न नसकेको अवस्थामा अब निर्वाचन जनताको मत लिएर संसदमा प्रवेश गरी बहस गर्ने पुनको दाबी छ ।

बुधबार विहान आफ्नो सामाजिक सञ्जालमा विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको अवस्थामा कर्मचारीतन्त्र बाधक भएपनि उम्मेदवारी दर्ता गरी चुनावमा लागेको पुनको तर्क छ ।










