हामी सधैं केही न केही प्रमाणित गर्न खोजिरहेका हुन्छौं, कहिले अरूलाई, कहिले समाजलाई, र धेरैजसो आफ्नै आत्मालाई। सानैदेखि हामीलाई सिकाइयो, “तिमी कति योग्य छौ भन्ने कुरा तिमीले के हासिल गर्यौ भन्नेले देखाउँछ।”
अंक, नतिजा, प्रशंसा, तुलना यी सबै हाम्रो मूल्य नाप्ने तराजु बनाइए। बिस्तारै हामीले विश्वास गर्न थाल्यौं, हरेक उपलब्धिले मात्र हामीलाई स्वीकार्य बनाउँछ।
तर कहिलेकाहीँ मनले चुपचाप सोध्छ,
“के यो जीवन हामी आफ्नै लागि बाँचिरहेका छौं, कि केवल प्रमाणित गर्न?”
हामी अरूको आँखामा राम्रो देखिन यति व्यस्त हुन्छौं कि भित्रको आवाज सुन्नै छोडिदिन्छौं। आफ्ना चाहना, आफ्ना डर, आफ्ना सपना सबैलाई मौन बनाइन्छ, ताकि समाजले देख्ने छवि बिग्रिन नपाओस्। यो आत्म-अस्वीकृति होइन, तर अरूलाई स्वीकार्य बन्ने यात्राले बिस्तारै हाम्रो पहिचान नै हराउन थाल्छ।
हामी काम गर्छौं, पढ्छौं, उपलब्धि बनाउँछौं।
तर प्रायः त्यो खुशीका लागि होइन
त्यो देखाउन का लागि हुन्छ।
परिवारले गर्व गर्न सकोस्, समाजले तुलना गर्न सकोस्, अरूले मापन गर्न सकोस् भनेर।
र एकदिन अचानक हामी थाकेका हुन्छौं।
शरीरले होइन; अस्तित्वले।
मनले सोध्छ, “के म यही थिएँ?”
तर उत्तर आउँदैन।
हामी दौडिरहेका छौं, तर दिशा हाम्रो होइन।
हामी हाँसिरहेका छौं, तर खुशी उधारो जस्तो लाग्छ।
हाम्रो सफलता अरूको आँखाबाट नापिन्छ, हाम्रो मूल्य अरूको मान्यतामा अडिन्छ, र भित्र कतै हामी खालि हुँदै जान्छौं।
सबैभन्दा गहिरो चोट यही हो;
हामीले आफैंलाई कहिल्यै सम्मान दिन सकेनौं।
आफूलाई बुझ्नै समय पाएनौं।
हाम्रो समय अरूको अपेक्षामा बित्यो,
ऊर्जा अरूको मापदण्ड पूरा गर्न खर्च भयो,
र जीवन… बिस्तारै अरूको बन्यो।
त्यसैले कहिलेकाहीँ, सबै कुरा पाएका जस्ता देखिए पनि,
भित्रको हामी एक्लो हुन्छौं।
सम्मानित, लोकप्रिय, सफल तर शून्य।
तर यो अन्तिम सत्य होइन।
किनभने जुन दिन हामी बुझ्न थाल्छौं, हाम्रो मूल्य प्रमाणित गर्नमा होइन, बाँचिरहनमै छ। हाम्रो अस्तित्व आफैंमा पर्याप्त छ। हामीले लिएको हरेक सास, गरेको हरेक निर्णय, महसुस गरेको हरेक भावना यिनै जीवनका साँचो प्रमाण हुन्। अरूले स्वीकारे वा नगरे पनि, हामी आफ्नो जीवनलाई अर्थ दिन सक्छौं। जब हामी आफैंलाई सुन्न थाल्छौं, जब हामी आफैंलाई अनुमति दिन्छौं “म यहाँ छु, र म पर्याप्त छु”
त्यहीँबाट जीवन साँच्चै सुरु हुन्छ।
हामीले प्रमाणित गर्न बाँच्नुपर्दैन।
हामीले साँचो बन्न सिक्नुपर्छ।
अरूलाई देखाउन होइन, आफूलाई देख्न।
जीवन सानो छ।
समय चाँडै बित्छ।
र खालीपनले ढिलो होइन, गहिरो चोट दिन्छ।
तर जब हामी आफैंलाई पहिलो स्थान दिन थाल्छौं,
आफ्नो अस्तित्वलाई मान्यता दिन सिक्छौं,
त्यही चोट पनि एकदिन जीवनको पाठ बन्छ।
अब प्रश्न तपाईंहरूलाई,
हामी बाँकी जीवन पनि प्रमाणित गर्नमै गुमाउने कि,
आफैंलाई सम्मान गर्दै साँच्चै बाँच्न सुरु गर्ने?
अस्मिता















