आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तोकिएको आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको म्याग्दीका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको आचारसंहिता पालना, व्यवस्था, अनुगमन र नियन्त्रण सम्वन्धमा आयोजित कार्यक्रममा तोकिएको आचारसंहिताको पालनासँगै अनुगमन गर्न समेत अनुरोध गरिएको छ । म्याग्दी जिल्लामा निर्वाचन खर्चको परिचालन तथा अन्य गतिविधिहरु राजनीतिक दल, उम्मेदवारलाई समान लागु हुनुपर्ने बताइएको थियो ।

निर्वाचनमा एक उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने ब्यवस्था रहेको छ ।कार्यक्रममा संविधानसभा सदस्य नवराज शर्मा, रेशमबहादुर बानियाँ र गमबहादुर श्रीषले निर्वाचनको आचारसंहिता देखाउने दाँत जस्तै हुन नहुने बताउनुभएको थियो। आचारसंहितमा तोकिएको खर्चभन्दा धेरै उम्मेदवारबाट हुने गरेको, चुनाव केन्द्रित धेरै नियमहरू पालना गर्न सकेमा उम्मेदवारलाई समेत राहत मिल्ने सहभागिको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर बानियाँ, हरी भण्डारी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा (एमाले) बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगर, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, राप्रपाबाट डम्बरबहादुर सुवेदी, श्रम संस्कृति पार्टीबाट विनोद राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विश्वकर्मा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी र नेशनल रिपब्लिक नेपाल पार्टीबाट तुलप्रसाद गर्बुर्जाको उपस्थिती रहेको थियो ।

म्याग्दीमा दुई स्वतन्त्र उम्मेदवार सहित १३ जनाले उम्मेदवारी दर्ता गराएको सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन्। एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लामा ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएका छन्।











