---Advertisement---

अध्यादेश रोकिएर रिस उठेपछि चुनावमा होमिए महावीर

On: January 21, 2026 8:57 PM
Follow Us:

निवर्तमान शिक्षा मन्त्री तथा सामाजिक अभियन्ता महावीर पुनले आफूले गर्न खोजेका केही कामहरू रोकिएपछि निर्वाचनमा होमिएको बताएका छन् ।

आफूलाई राजनीतिमा खासै चासो नभएको बताउँदै आएका उनले मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा बुझाएर म्याग्दी हानिएका थिए । सोझो शैलीमा बोलेर इमानदार र गैह्र राजनीतिक छविले सबैमाझ लोकप्रिय रहेका पुनले अकस्मात् उम्मेदवारी दर्ता गराएका थिए ।

बुधवार बिहानै सामाजिक सञ्जाल ‘फेसबुक’ मा एक ‘स्ट्याटस’ लेख्दै अध्यादेश र नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए आफू चुनावमा नलडेको हुने बताएका छन् । शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने आफ्ना कामहरू रोकिएको पुनको भनाइ छ । आफूले एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन खोजेको भए पनि मुख्य सचिवले अल्झाएका कारण आफूलाई रिस उठेको र त्यसैको झोकमा चुनाव लड्नका लागि म्याग्दीतिर दौडिएको बताएका छन् ।

‘स्ट्याटस’ले शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउने आफ्नो दीर्घकालीन सपना उनले अघि सार्न खोजेको बुझ्न सकिन्छ । पुनले शिक्षा सुधार, अनुसन्धान, नवप्रवर्तन र प्रविधिको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न नसक्दा देश पछि परेको बताउँदै आएका छन् ।

मङ्गलवार उम्मेदवारी दर्ता गराएसँगै बुधवार बिहानैबाट आफू चुनाव प्रचारप्रसारका लागि मुना गाउँतर्फ जानका लागि उकालो लागेको पनि बताएका छन् ।

महावीर पुन ग्रामीण प्रविधि, वायरलेस इन्टरनेट विस्तार, अनुसन्धान केन्द्र स्थापना तथा युवालाई देशमै अवसर सिर्जना गर्ने अभियानमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित व्यक्तित्व हुन् । उनको स्वतन्त्र उम्मेदवारीलाई म्याग्दी मात्र नभई देशभरिका शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा चासो राखेका छन् ।

Leave a Comment