हरिकृष्ण गौतम
नेपाली नागरिकताका लागि एक दशकदेखि भौँतारिइरहेका दिदीभाइले समिर खान र यास्मिन बेगमले मंगलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट आमाको नामबाट नागरिकता प्राप्त गरेपछि निकै खुसी भए । नागरिकताका लागि जिल्लामा आउने नेता, मन्त्रीदेखि सरकारी निकायका उच्च पदस्थ कर्मचारीसम्मलाई गुहारेका समीर र यस्मिनाले कानुनी अठ्ठा धाउँदाधाउँदै आजित भएका थिए ।
बेनी नगरपालिका–७ सदरमुकाम बेनीमा जन्मिएर, यही हुर्किएपनि नागरिकताबाट बञ्चित हुदाँ आफ्ना अनेक सपनाहरू अधुरै राखेका समीर र यास्मिना नागरिकताबाट बन्चित थिए । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएपछआमा मनिरजाले छोराछोरीका लागि गरेको लामो संघर्ष पूरा भएको भन्दै प्रजिज रबिन्द्र आचार्यलाई धन्यवाद दिनुभयो ।

नागरिकता हातमा लिएर जिल्ला प्रशासन कार्यालयबाट बाहिरिदाँ समीर र यास्मिनाको अनुहारमा अचम्मको चमक थियो । एकदशकसम्मको पीडा, निराशा र अथक संघर्षपछि प्राप्त भएको नेपाली नागरिकताको प्रमाणपत्रले अपुरा कामले पूर्णता पाउने भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
आमाको बंसजको नागरिकता, बुबाको अर्को देशको नागरिकता भएको, लामो समयसम्म नेपालमा, जग्गाजमिन, सरकारी कागजात खुल्ने प्रमाण, वडा कार्यालयबाट समेत प्रमाणित गरेको अवस्थामा नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनको आधारमा पहिलोपटक अङ्गीकृत नेपाली नागरिकता प्रमाणपत्र जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

अङ्गीकृत नेपाली नागरिकता विदेशी आमा वा बुबा भएको प्रमाणहरूको आधारमा वितरण गरिन्छ । समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने उनका श्रीमान् सलिम खान भारतको कलकत्ताको हुनुहुन्छ । ४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा कस्मेटिक व्यवसाय सुरु गर्नुभएको थियो । ‘आमाको नागरिकता छ, हामी यही देशमा जन्मिएर हुर्कियौँ, आमाको नामबाट नागरिकता पाऊँ भन्दा धेरै दुख भोग्नुपर्यो’ समीरले बेनीअनलाइनलाई भन्नुभयो ।
बेनीको प्रकाश माविबाट उच्च शिक्षा हासिल गरेपनि आफ्नै नामबाट ब्यवसाय तथा जागिर खान तथा वैदेशिक शिक्षाका लागि जाने प्रयासहरु सफल भएको थिएन ।बेनी नगरपालिका हाल वडा नं ७ मा पर्ने साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता रहेको तथा प्रयाप्त प्रमाणहरुले समेत नागरिकताबाट बन्चित हुनुपर्ने अवस्थालाई अन्त्य गरेको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको भनाई छ । म्याग्दीमा यसअगाडी बंशजको आधारमा मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो।












