प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट उमेदवारी दिएकाहरूविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उमेदवारी दर्ता गराएका थिए ।
एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको म्याग्दीमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उमेदवारविरुद्ध उजुरी दिने समय तालिका तोकिएकोमा कुनै उजुरी नपरेको सहयाक निर्वाचन अधिकृत सुर्यबहादुर थापाले बताए ।
मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको उमेदवारहरूमा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी केबी, नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीबाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवराज रोका, स्वतन्त्रबाट निवर्तमान शिक्षामन्त्री महावीर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे रहेका छन् ।
त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट नवीन जिसी र महावीर पुन रहेका छन् ।
सबैभन्दा पहिला स्वतन्त्रबाट महावीर पुनले उमेदवारी दर्ता गरेका थिए । निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।
यसैबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उमेदवारी दिएका कुनै पनि राजनीतिक दलका उमेदवारविरुद्ध उजुरी उजुरी नपरेको पाइएको छ ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उमेदवारविरुद्ध उजुरी दिने समय तालिका तोकिएको थियो । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलका अनुसार उमेदवारविरुद्ध उजुरी नपरेपछि आठ राजनीतिक दलका उमेदवारबीच प्रस्तिपर्धा हुने भएको छ ।











