आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवारी दिएका नेशनल रिपब्लिक नेपाल तुलप्रसाद गर्बुजा(तार्जन)ले आफ्नो उम्मेदवारी फिर्ता लिदैं स्वतन्त्र उम्मेदवार डा.महावीर पुनलाई समर्थन गरेका छन् ।
बिहिबार विज्ञप्ती निकाल्दै उम्मेदवार गर्बुजाले आफ्नो दलको दर्शन,विचार र सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रही स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका डा.महावीर पुनलाई सर्मथन गरेको विज्ञप्तीमा उल्लेख छ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्जिमा निवासी गर्बुजाले म्याग्दी जिल्लामा जन्मिएका नेपाली बैज्ञानिक डा.पुन नै उम्मेदवार भएको अवस्थामा समर्थन गर्नु नैतिक जिम्मेबारी भएकाले उम्मेदवारी फिर्ता गरी चुनावी अभियानमा जोडिने बताए।

बि.स२०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभा,प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमराज मगर,प्रदेशसभा सदस्य उम्मेदवारद्धय दिपक पुन र डिके चोचाङ्खी मगरले समेत डा.पुनलाई समर्थन गरेका छन् ।
मंगोल नेशनल अर्गनाइजेसनको टिम नै नेशनल रिपब्लिक नेपालमै समाहित गरिएको छ । यसैबीच म्याग्दीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समेत सर्मथन गर्ने बताइएपनि हालसम्म औपचारिक निर्णय नभएको पार्टीका उम्मेदवार एवम् जिल्ला सभापति युवराज रोकाको भनाई छ । म्याग्दीमा मनोनयनदर्ताको समय शुक्रबारसम्म तोकिएको छ ।









