म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप –२०८२ ‘यु’ २० महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सञ्चालन भएको छ ।

म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै बिधामा ३५ टिमको सहभागिता छ । प्रतियोगिताको बिहिबारी म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले उद्घाटन गर्नुभयो ।

१४ टिमले सहभागिता जनाएको छात्र भलिबल प्रतियोगिताको फाइनलमा धनजनता मावि फलियागाउँ र मुक्तिमार्ग मावि घार पुगेका म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो ।

धनजनताले ज्ञानप्रकाश मावि र मुक्तिमार्गले राष्ट्रिय मावि रुमलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् । छात्रा भलिबल बुधबारदेखि सुरु भएको थियो । बिहिबारदेखि शुरु भएको सात टिमले सहभागिता जनाएको छात्रा भलिबलको तीन वटा प्रतियोगिता सम्पन्न भएको छ ।

मंगला माविले राष्ट्रिय मावि रुमलाई, प्रकाश माविले महेन्द्र मावि झिँलाई र माउन्ट एभरेष्ट आवासीय माविले जनप्रिय मावि दरवाङलाई जित्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । छात्र र छात्रा भलिबलको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

बिजेतालाई रु. २५ हजार र उपबिजेतालाई रु. १३ हजार नगद पुरस्कार रहेको शिक्षकहरुको भलिबलमा महिला र पुरुषतर्फ सात÷सात टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता सञ्चालनका लागि गौमती खत्री विकास कोषका संस्थापक लालबहादुर केसीले रु. दुई लाख सहयोग गर्नुभएको छ ।

केसी र संघबीच तीन वर्ष हरेक वर्ष आयोजना हुने म्याग्दी कपलाई वार्षिक रु. दुई लाखका दरले दश वर्ष सम्मका लागि प्रायोजन गर्ने सम्झौता भएको थियो । जिल्ला खेलकुद विकास समिति म्याग्दीसँग समन्वय गरेर आयोजना भएको प्रतियोगिताको सहआयोजक मालिका गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ, मालिका बजार इकाई रहेको छ ।

बेनी नगरपालिका, धवलागिरी, मंगला, अन्नपूर्ण र रघुगंगा गाउँपालिका सहयोगी रहेको प्रतियोगिता सञ्चालनका लागि दरवाङमा रहेका सात वटा टोल विकास समिति, जनप्रिय मावि, पश्चिम म्याग्दी दरवाङ युथ क्लव, जनप्रिय भु.पु. विद्यार्थी परिवार, के.वि. एकेडेमी, दरवाङ इङलिस बोर्डिङ र फु्युचर स्टार मन्टेश्वरी स्थानीय सहयोगी संस्था हुन् ।
प्रत्येक वर्ष फरक÷फरक स्थानीय तहमा प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार यस वर्ष दरवाङमा सञ्चालन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पुर्वमन्त्रि समेत रहेका जुग्जालीले राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाएका अग्रज खेलाडीहरुको बाटोलाई नयाँ खेलाडीहरुले पछ्याउन सुझाव दिनुभयो ।
म्याग्दी जिल्ला भलिबल संघले जग्गाको ब्यवस्थापनका लागि सञ्चालन गरेको अभियानमा साथ दिन अपिल गर्दै उहाँले संघको नाममा जग्गा उपलब्ध भएपछि तीनै तहका सरकारले लगानी गरेर बेनीमा सुविधायुक्त भलिबल कवर्डहल बनाउने म्याग्दीको साझा मुद्दा बनेको बताउनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मोवाइलको कुलतबाट टाढा रहदै खेलकुद गतिबिधीमा सहभागी भएमा शारिरिक र मानसिक स्वास्थ्यका लागि पनि फाइदा पुग्ने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका सचिव नगेन्द्र मल्लले खेल प्रतिभा पहिचान र प्रस्फुटनका लागि प्रतियोगिताहरुले सहयोग मिलेको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ मालिका बजार इकाईका सभापति लेकबहादुर पुनले प्रतियोगिताले बजारको ब्यापार प्रर्वद्धनमा सहयोग पुगेको बताउनुभयो ।








