---Advertisement---

कराँते प्रतियोगिताको तयारी पूरा

On: January 23, 2026 8:49 AM
Follow Us:

 म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि हुने धौलागिरि अञ्चल स्तरीय प्रथम कराँते प्रतियोगिताको तयारी पूरा भएको छ । म्याग्दी कराँते संघको आयोजनामा हुने प्रतियोगितामा म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका गरी ४६ खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा बिहीबार बेलुका भएको पत्रकार सम्मेलन मार्फत जानाकारी गराइएको छ ।

१२ स्वर्ण पदकका लागि हुने प्रतियोगिता सञ्चालनका लागि करिब तीन लाख २५ हजार रुपियाँ बराबरको अनुमानित खर्च तय गरिएको जिल्ला कराँते संघ म्याग्दीका अध्यक्ष सुमन बानियाँको भनाइ छ ।

प्रतियोगितामा पुरस्कारतर्फ ६८ हजार रुपियाँ, मेडल खरिदका लागि नौ हजार छ सय रुपियाँ, ट्रफी खरिदमा ४५ हजार रुपियाँ तथा प्रमाणपत्र छपाइमा चार हजार रुपियाँ खर्च हुने संघको अनुमान रहेको छ ।

प्रतियोगितामा सहभागिता जनाउन अन्य जिल्लाबाट आउने खेलाडीहरूलाई बेनी नगरपालिका–९ मा तोरीपानीको होम–स्टेमा राखिने व्यवस्था मिलाइएको छ ।

कराँते खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कराँते संघका सचिव रमेश रुचालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताले क्षेत्रीय स्तरमा खेलकुद गतिविधि सक्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Comment