---Advertisement---

अन्नपूर्ण बेसक्याम्पमा टेलिकम र विद्युत लाइन विस्तारका लागि सर्वे गरियो

On: January 23, 2026 10:57 AM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पर्पटकीयस्थल अन्नपूर्ण बेसक्याम्पमा टेलिकमको टावर र विद्युत लाइन विस्तारका लागि सर्वे गरिएको छ । टेलिकम, विद्युतका प्राविधिक, स्थानीय उपभोक्ता सहित ९ जनाको टोलीको नेतृत्व गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डे पञ्चकुण्ड तालसम्म पुगेर सर्वे गरिएको हो ।

टेलिफोन र विद्युतको पहुँच नहुदाँ पर्यटकलाई सास्ती भएको बारेमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा सञ्चार तथा सूचना मन्त्रालय र उर्जा मन्त्रालयलाई गत महिना बुझाइएको ज्ञापनपत्रको आधारमा सर्वेको काम भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बेनीअनलाइनलाई बताउनुभयो ।


बर्षेनी हजारौं पर्यटक पुग्ने अन्नपूर्ण बेसक्याम्पमा सञ्चार र विद्युतको अभावका कारण भोग्नुपरेको समस्यालाई अन्त्य गदैं विद्युत र फोर जी नेटवर्क सहितको सञ्चार सुविधा विस्तारका लागि निर्वतमान संचार तथा प्रविधिमन्त्री जगदिश खरेल र उर्जा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइएपछि प्रक्रिया अगाडी बढेको छ ।

सञ्चार सुविधा नहुदाँ अलपत्र परेका पर्यटकलाई उद्धारमा समेत कठिनाई भइरहेकाले पहिलो प्राथमिकता सञ्चार र विद्युत रहेको गाउँपालिका अध्यक्ष पुनको भनाई छ । ’अब सर्वेपछि बजेट विनियोजनका लागि समेत सकारात्मक जवाफ आएको छ, यसै आवभित्र बजेट विनियोजन भएमा थप सहज हुन्छ’ अध्यक्ष पुनले भन्नुभयो । गाउँपालिकाले विद्युत र सञ्चारको सुविधा विस्तार भएमा पर्यटकलाई बस्न थप सहज हुने संरचना बनाउन समेत पहल गर्ने जनाएको छ ।


समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा सञ्चार सुविधा नहुदाँ पर्यटक तथा आरोहीलाई समस्या हुने गरेको छ । हुमखोलादेखि माथिल्लो क्षेत्रमा सञ्चार विच्छेदको अवस्थामा रहेको छ । नेपाल टेलिकमका इन्जिनियर जिवराज उपाध्यायले सर्वेसहितको प्रारम्भीक विवरण आएपछि थप योजना बनाउने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउने टोलीमा गाउँपालिका अध्यक्ष पुन, अन्नपूर्ण बेसक्यामको पदमार्गको परिकल्पनाकार एवम् पर्यटन क्षेत्रका अभियान्ता तेज गुरुङ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, यूवा ब्यवसायी किरण बानियाँ र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमकोउपस्थिती रहेको थियो ।


सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोगसम्म पदमार्ग सञ्चालनमा रहेको छ । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भएपनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरी अन्तरगत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुंगा र आधार शिविरमा सञ्चारबिहिन हुदाँ त्यस क्षेत्रको प्रचारप्रसारमा समेत असर गरेको छ । असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुईचो लाग्छ ।

Leave a Comment