मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।
एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उमेदवार दर्ता गराएका थिए । दुवैजना उमेदवार नहुने भएका छन् । मनाङमा पाँचजनाको उमेवारी परेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमाले र राप्रपाबाट उमेदवारी फिर्ताको निवेदन आएको जानकारी दिएको छ । यसको निर्णय भने १ बजेपछि मात्रै हुनेछ । यहाँ रास्वपाबाट उमेदवारको टिकट लिएका व्यक्ति समयमा नपुग्दा उमेदवारी दर्ता गराउन पाएका थिएनन् ।
कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ उमेदवार बनेका छन् । निर्वाचनको समयमा झडप हुने, अप्रिय घटना हुनेभन्दै मनाङमा लामाहरूले अग्रसरता देखाएका थिए । त्यहाँका एक जनप्रतिनिधिका अनुसार बिहीबार मुख्य दल कांग्रेस र एमालेका उमेदवार बोलाएर लामा गुरुहरूले छलफल गरेका थिए ।
दुवै दलका उमेदवारको अडानपछि अन्ततः चिठ्ठामार्फत को उमेदवार रहने भन्ने टुंगो लगाइएको थियो । जसमा कांग्रेसका टेकबहादुर गुरुङले जितेका थिए । उनले प्रतिनिधिसभामा भाग लिँदैगर्दा आउने प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा भने कांग्रेसले एमालेलाई सघाउने सहमति बनेको छ ।










