म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढी मूल्य प्राप्त गर्ने उद्देश्यले माघ लागेपछि मात्रै सुन्तला टिपेर बजार पठाउन थालेका छन्। देशका अधिकांश स्थानका सुन्तला बगैँचा रित्तिएपछि दोसल्लेका किसानले ढिलो समयमा सुन्तला बिक्री गर्न थालेका हुन्।
दोसल्लेका किसानले यस वर्ष विगतको तुलनामा राम्रो मूल्य पाएका छन्। यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (२० किलो) रु एक हजार ७०० मा बिक्री हुँदै आएको सुन्तला यसपालि प्रतिक्रेट रु दुई हजार ५०० मा बिक्री भइरहेको स्थानीय विकास श्रेष्ठले जानकारी दिनुभयो। “किसानले सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था हटाउन सबै मिलेर मूल्य निर्धारण गरेका हौँ,” उहाँले भन्नुभयो, “अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट रु तीन हजार २०० सम्म तिर्न पनि तयार छन्।”
बयालिस घरधुरी रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट रु एक करोड ६० लाख आम्दानी भएको थियो। यस वर्ष दाना केही कम भए पनि मूल्य वृद्धि भएको र नयाँ बोटले फल दिन थालेकाले समग्र उत्पादन गत वर्षकै हाराहारीमा हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले बताउनुभयो। पोखरा र काठमाडौँका व्यापारी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेपछि अहिले धमाधम टिपाइ भइरहेको छ।
दोसल्लेका सबै घरधुरीले सुन्तलाखेती गर्दै आएका छन्। सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि गाउँबाट हुने बसाइँसराइ रोकिएको छ। पहिले बेनी, पोखरालगायत स्थानमा बसाइँ सरेका स्थानीय गाउँ फर्किएर बाँझो जमिनमा सुन्तला रोपणमा जुटेका छन्।
“पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत गाह्रो थियो,” पाइजाले भन्नुभयो, “आज सुन्तलाखेतीले गाउँलेको जीवनस्तर परिवर्तन गरेको छ।” उहाँका अनुसार दोसल्लेमा हाल करिब १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागका विज्ञ बोलाएर माटो परीक्षण गरेपछि व्यवस्थित रूपमा सुन्तलाखेती सुरु गरिएको हो। परम्परागत धान, मकै, कोदो र भटमास खेती हुने खेतबारी अहिले सुन्तलाबगैँचामा परिणत भएका छन्।
नयाँ बोटले फल दिन थालेकाले आगामी केही वर्षमा दोसल्ले गाउँबाट सुन्तलामार्फत वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी हुने स्थानीयको अनुमान छ। सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरूले परम्परागत अन्नबाली छाडेर सुन्तलाखेती विस्तारमा जोड दिएका छन् भन्ने कुरा स्थानीय मायादेवी गर्बुजाले बताउनुभयो।
रासस










