---Advertisement---

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

On: January 26, 2026 10:32 PM
Follow Us:

म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ । फागुन २१ गते निर्वाचनको मिति नजिकिदै जाँदा विशेषगरी पहिलो पटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेनजी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जना व्यक्तिले उम्मेदवारी (मनोनयन) दर्ता गराएकोमा १२ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवार सहित राजनीतिक दलका नेताहरु मत माग्न जनताको घरघरमा जान, विभिन्न ठाउँमा भेला र छलफलमा व्यस्त हुन थालेका छन् ।

बेनी नगरपालिका २ का निकेश सापकोटा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । उहाँले व्यक्तिगत छविमा कुनै दाग नलागेका, देश विकास गर्ने योजना भएका र युवाको मनोभावना र देशको आवश्यकतालाई बुझेर इमानदारी पूर्वक काम गर्ने नेतालाई निर्वाचित गरेर पठाउनका लागि फागुन २१ मा मत हाल्न आफू उत्साहित भएको बताउनुभयो ।

“म पहिलो पटक मतदान गर्न लागेको छु । उत्साहित छु । देश र जनताको मनोभावनालाई बुझेर काम गर्न सक्ने योग्य र इमानदार उम्मेदवारलाई भोट हाल्छु” सापकोटाले भन्नुभयो ।

दलहरूले आ–आफ्ना पार्टी र उम्मेदवार नै योग्य भएको भनेर प्रचार गरी मत मागे पनि कसलाई जिताउने भन्ने अधिकार मतदातामा रहेको बताउँदै सापकोटाले आफू पहिलोपटक अधिकारको प्रयोग गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

यस्तै, बेनी नगरपालिका ७ की २१ वर्षिया संगिता विक सबै सम्मेदवारहरुको कुरा सुनेर र उनीहरुलाई राम्रोसँग बुझेर मात्र कसलाई मत दिने भन्ने कुरा निर्णय गर्ने बताउनुहुन्छ । “म उम्मेदवारहरुको कुरा सुनेर र एजेण्डा हेरेर मत दिने मुडमा छु । सक्षम नेतृत्व छनोट गर्न नसक्दा दुःख जनतालाई नै हुँदोरहेछ भन्ने कुरा हामीलाई विगतले सिकाएको छ । त्यसैले राम्रो र सक्षम नेतृत्वलाई मत दिएर विजयी बनाउन आवश्यक छ” उहाँले भन्नुभयो । विक जेनजी आन्दोलनका पक्षमा पनि लाग्नुभएको थियो । उहाँ पहिलो पटक मतदान गर्दै हुनुहुन्छ ।

त्यस्तै,मंगला गाउँपालिका ४ का दिपेश वूढा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ की भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उहाँले बताउनुभयो “अहिले म्याग्दीको निर्वाचन पनि निकै चर्चामा छ । नयाँ दल र नयाँ व्यक्ति निर्वाचनमा सहभागि भएका छन् । पार्टी भन्दा पनि योग्य मान्छेलाई हेरेर मतदान गर्ने सोंच बनाएको छु” बूढाले भन्नुभयो ।

त्यसैगरी रघुगंगा गाउँपालिकाका संगम पुन पनि आफूले पहिलो पटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताउनुहुन्छ । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उहाँको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको जिल्लामा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । अधिकांश युवा मतदाता रहेका छन् । केही यस अघिनै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिवारसम्म ६६ वटा मतदान स्थलको अनुगमन तथा निरीक्षण गरिएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी तीब्र गतिमा अघि बढेको छ ।

Leave a Comment