फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका म्याग्दीका ७५ मतदान केन्द्रको अनुगमन तथा निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा जिल्लाभर ८२ मतदानस्थलमा रहेका १ सय २० केन्द्रमध्ये ७५ केन्द्रमा पुगेर अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।
मतदान केन्द्र तथा स्थलको अनुगमनमा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आचार्य सहित सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतम लगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो ।

बाँकी रहेका ग्रामिण क्षेत्रका मतदानस्थलमा रहेका केन्द्रको समेत अनुगमनलाई तिब्रता दिइएको जिल्ला निर्वाचन अधिकारी गौतमको भनाई छ । मतदानस्थलको भौतिक पूर्वाधार,सडक,खानेपानी,शौचालय,घेराबार,विद्युत लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरिएकोमा आवश्यकता परेका पूर्वाधार थप गर्न समेत निर्देशन दिइएको छ । जिल्लाभर ८२ मतदानस्थल र एक सय २० मतदान केन्द्र कायम भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।











