आदर्श युथ क्लब पोखराले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति म्याग्दी सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका–२९ भण्डारढिक स्थित लेखनाथ रङ्गशालामा फस्र्ट च्वाईस फुड्स लिमिटेडको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामासशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालयलाई एक शुन्यको साँघुरो जित हात पार्दै समितिले सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
खेलको ८२ औ मिनेटमा म्याग्दीका लागि सनम बिकले बक्सभन्दा बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो। सनमको उत्कृष्ट खेलले म्याग्दीलाई सेमिफाइनलमा पुर्याएको थियो । उक्त खेलको म्यान अफ दि म्याच सनमले पाँच हजार सहित ट्रफी पनि प्राप्त गरेका हुन् ।

उक्त जितसँगै म्याग्दीले अब दोस्रो सेमीफाइनल खेल अन्तर्गत होराइजन क्लब वालिङ स्याङ्जासँग हुने जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले जानकारी दिए ।
मोफसलका उत्कृष्टमध्ये आठ टोलीहरुको सहभागी रहेको उक्त प्रतियोगिताको बिजेताले नगद ४ लाख, ९९ हजार ९९९ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद ३ लाख ३३ हजार ३,३३ रुपैया प्राप्त गर्नेछ। व्यक्तिगत विधातर्फको उत्कृष्ट खेलाडीले जनहि नगद १५हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीले नगद रु.२५ हजार प्राप्त गर्ने छ ।
प्रतियोगितामा म्याग्दी सेमिफाइनलमा प्रवेश गरेकोमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बधाई दिदैं खेलाडीलाई प्रतियोगितामा कुनै कमी हुन नदिने बताए ।
प्रतियोगिताको समापन भने माघ १६ गते हुने आयोजकले जानकारी दिएको छ । जिल्ला फुटबल संघको सक्रियतासँगै म्याग्दीले पछिल्लो समय प्रदेशस्तरीय फुटबलमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ । प्रतियोगितामा गण्डकीका ११ जिल्लामा उत्कृष्टमध्येमा म्याग्दी समेत पर्छ । तस्वीर सौजन्य गोलनेपाल











