---Advertisement---

‘बेनी अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापनमा सघाउँछु’

On: January 27, 2026 11:00 PM
Follow Us:

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा गौतमले सरकारी अस्पतालमा उपकरण, दक्ष जनशक्तिको व्यवस्थापन तथा स्वास्थ्य बीमाको रकम भुक्तानीलाई प्राथमिकतामा राखिएको बताएकी छन् । मंलवार बेनी अस्पताल म्याग्दीको अनुमगन गर्दै मन्त्री गौतमले वर्तमान सरकारले सरकारी अस्पतालहरुमा उपकरणको जडान, विशेषज्ञ जनशक्तिको व्यवस्थापन र बीमाको भुक्तानीलाई जोड दिइएको बताएकी हुन् ।


मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनको लागि वर्तमान सरकारले निरन्तर रुपमा पहल गरिरहेको बताउँदै सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधी, उपकरण तथा दक्ष जनशक्तिको व्यवस्थापन गरिने बताइन् । नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाहरु उपलब्ध गराउन विभिन्न नीति र योजनाहरु बनाउनुपर्ने बताउँदै उनले स्वास्थ्य बीमा वापतको रकम अस्पतालहरुले क्रमशः प्राप्त गर्ने बताइन् ।


स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न आफूले सरकारी अस्पतालहरुलाई पहिलो प्राथमिकता दिन स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिएको बताउँदै स्वास्थ्य मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी र व्यवस्थित बनाइने जानकारी दिएकी छन् । उनले बेनी अस्पताल म्याग्दीमा स्वास्थ्यका उपकरणहरु थप गर्न तथा विशेषज्ञ जनशक्तिको व्यवस्थापनको पहल गर्ने बताएकी छन् । स्वास्थ्य मन्त्री गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको समस्या बढ्दै गैरहेको हुँदा समुदायस्तरमा जनचेतना जगाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।


सोही अवसरमा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले मन्त्री गौतमलाई अस्पताल सुधार गर्नका लागि ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउँदै उनले बेनी अस्पतालको निर्माणाधीन भवनको काम छिटो सक्न मन्त्री गौतमको ध्यानाकर्षण गराएका छन् । निर्माण सुरु गरेको १० वर्ष बित्दा समेत अस्पतालको भवनले अझै पूर्णता पाउन नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।


अध्यक्ष बानियाँका अनुसार बेनी अस्पतालले स्वास्थ्य बीमा वापतको करिब चार करोड रकम पाउन बाँकी छ । अध्यक्ष बानियाँको अधयक्षता र प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका परिवार नियोजन सुपरभाईजर एवं सूचना अधिकारी गणेश सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भूवन ठकुराठी र बेनी अस्पतालका निमित्त कार्यालय प्रमुख डा. रामु सापकोटाले प्रस्तुतीकरण गरेका थिए ।

Leave a Comment