---Advertisement---

मतदातालाई विकास योजना सुनाउँदै मत माग्दै उम्मेदवार

On: January 28, 2026 4:06 PM
Follow Us:

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दीका उम्मेदवारहरूले चुनावी अभियानलाई गाउँतर्फ केन्द्रित गरेका छन् ।

मतदाताको घर आगनमा पुगेर उम्मेदवारहरुले जिल्लाको विकास योजना र आफ्नो प्रतिवद्धता जनतालाई सुनाउँदै आफूलाई र आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका छन् ।

माघ ६ गते मनोनयन दर्ता गराएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेपछि मत माग्न गाउँ पसेका हुन् ।

दलका नेता र कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार चुनावी अभियान लिएर गाउँमा जान थालेपछि चुनावी रौनक बढेको छ । नेताहरुले आँगन र खेतबारीमा काम गर्दै गरेका जनतालाई भेट्ने,गाउँ तथा टोल भेला गरेर जनताका कुरा सुन्ने र आफ्नो उम्मेदवारलाई भोट माग्ने कामलाई तिब्र बनाएका छन् ।

उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका विभिन्न प्रकृयाहरुसम्पन्न गरी चुनावी योजना बनाइसके पछि मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । दलका नेता,उम्मेदवार र कार्यकर्ताहरु गाउँ पसेपछि गाउँमा चुनावको माहोल देखिन थालेको रघुगंगा गाउँपालिका २ का धनबहादुर गर्बुजाले बताए ।

निर्वाचन आयोगले आगामी फागुन ४ गतेपछि मात्र निर्वाचन प्रचारप्रसारको कार्यक्रम गर्न पाइने समय तोकेपछि यतिखेर राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवार ग्रामीण वस्तीमा पुगेर मतदातालाई विकास योजना र प्राथमिकताका बारेमा सुनाउन थालेका छन् ।

मतदाताहरुसँग उम्मेदवारहरुले जिल्लाको पर्यटन, जलविद्युत, सडक, खानेपानी, सिँचाई, कृषि र पशुपालन र रोजगारीका योजनाहरु सुनाइरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी),नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ,नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार अर्जुन थापा र स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डाक्टर महावीर पुन यतिखेर मतदाताको घरघरमा पुगेका छन् ।

अन्य साना दलका उम्मेदवारले पनि निर्वाचन केन्द्रित मतदाता भेटघाटका कार्यक्रम लिएर गाउँ पस्न थालेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर (केवि) भण्डारीले रघुगंगा गाउँपालिकामा पहिलोचरणमो मतदाता भेटघाटको कार्यक्रम सम्पन्न गरेको मंगलबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठ रघुगंगा गाउँपालिकाबाट मतादाता भेटघाट सुरु गरेका छन् । नेकपाका उम्मेदवार अर्जुन थापाले अन्नपूर्ण गाउँपालिकामा मतदाता भेटघाटलाई सम्पन्न गरि धवलागिरि गाउँ पालिकामा पुग्नुभएको नेकपाका जिल्ला नेता गोविन्द पौडेलले जानकारी दिए । स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डा. महावीर पुनले धवलागिरी गाउँपालिमा मतदाता भेटघाट सकेर मालिका गाउँपालिकामा पुगेका छन् ।

एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कांग्रेसकाबाट कर्णबहादुर भण्डारी(केबी) नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेकपाबाट अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरेको चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक,नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डा. महावीर पुन चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ति मध्य ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।
जिल्लामा ८२ वटा मतदानस्थल र १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ ।

उम्मेदवार गाउँमा देखिन थालेपछि चुनावी प्रचारप्रसारसँगै मतदाता भेटघाटका कार्यतालिका बनाउन स्थानीयस्तरका नेताहरु ब्यस्त छन् ।

Leave a Comment