---Advertisement---

साग र धनियाँ बेचेर वार्षिक तीन लाख कमाउँछन् म्याग्दीका चन्द्रबहादुर कार्की

On: January 28, 2026 9:11 PM
Follow Us:

ध्रुवसागर शर्मा /म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा लभ्लिहिलका अगुवा कृषक चन्द्रबहादुर कार्कीले रायोको साग र धनियाँ बेचेर वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

विगत ४२ वर्षदेखि आफ्नै ७ रोपनी जग्गामा विशुद्ध प्रांगारिक तरकारी खेतीलाई व्यवसायिक रुपमा अघि बढाउँदै आउनुभएका कार्कीले तरकारी खेतीबाटै गाउँमा पक्की घर र सदरमुकाम बेनीमा घडेरीसहित घर निर्माण गर्न सफल हुनुभएको छ ।

कार्कीको बारीमा एउटै बोटबाट एक डोका भन्दा बढी साग उत्पादन हुने गर्दछ । सागका साथै उहाँले विभिन्न किसिमका मौसमी तथा वेमौसमी तरकारी खेती, केरा खेती,माछा पालन र पशुपालन समेत गर्दै आउनुभएको छ ।

“यस वर्षको माघ ६ गतेसम्म मैले साग र धनियाँ बेचेर मात्र रु तीन लाख बढी आम्दानी गरेँ” कृषक कार्कीले भन्नुभयो “अझ बारी भरी सागर धनियाँ टन्नै छ ।”एउटै बोटमा एक डोका भन्दा बढी साग उत्पादन हुने र त्यो विक्री गर्दा रु दुई हजार बढी आम्दानी हुने उहाँले बताउनुभयो । उहाँले रोयोको साग प्रतिमुठा रु २५ मा विक्री गर्नुहुन्छ भने धनियाँ प्रतिमुठा रु १० मा विक्री हुने बताउनुभयो ।

यसरी उत्पादन भएको तरकारी र अन्य कृषि उपजहरुले उहाँलाई वार्षिक २५ लाख रुपैयाँभन्दा बढी आम्दानी दिलाएको छ । “मन लगाएर काम गर्ने हो भने विदेशमा जत्तिकै कमाइ आफ्नै गाउँमा पनि गर्न सकिन्छ,” कार्कीले मुस्कुराउँदै भन्नुभयो।

२०४१ सालमा साथीहरूको लहलहैमा विदेश जाने सोच बनाएर काठमाडौंसम्म पुग्नुभएका कार्की अन्ततः गाउँ फर्किएर तरकारी खेती सुरु गर्नुभएको थियो । “विदेश नगई आफ्नै माटोमा पसिना बगाउने हो भने पनि आफ्नो जीवनमा हरियाली आउँछ,” उहाँको भनाइ छ ।
६० वर्ष उमेर पुगे पनि उहाँको कामप्रति लगाव अझै कम भएको छैन । श्रीमती, छोरा र बुहारीले खेतीपातीमा सघाइरहेका छन् । छोरा नारायण कार्कीले भन्नुभयो, “बुबाको लगाव र प्रगति देखेर मलाई पनि विदेश जान मन लागेन । यही बसेर बुबाले सुरु गरेको खेतीलाई अझ व्यवस्थित र व्यवसायिक बनाउँदै छु ।”

स्थानीय कृषक तेजेन्द्र कार्की भन्नुहुन्छ, “चन्द्र दाइको मेहनतले हाम्रो गाउँको पहिचान नै बदलिएको छ । उहाँले देखाएको बाटो हामी सबैका लागि प्रेरणा हो ।”

त्यसैगरी अर्का कृषक क्षेत्रबहादुर कटुवालले भन्नुभयो “उहाँले प्रांगारिक खेतीलाई व्यवसायिक बनाउन सक्नु भएको छ । यसले हामीलाई पनि आत्मनिर्भर बन्ने हौसला दिएको छ ।”

त्यस्तै अगुवा कृषक सोबित सापकोटाले भन्नुभयो, “कार्कीजस्ता कृषकले प्रांगारिक खेतीलाई व्यवसायिक बनाउन सक्नु नै हाम्रो जिल्लाको गौरव हो । यसले स्थानीय बजारमा स्वस्थ तरकारी आपूर्ति मात्र होइन, रोजगारी सिर्जना पनि गरेको छ ।”

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले भन्नुभयो “नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ । कार्कीको उदाहरणले देखाउँछ कि मेहनत र लगनशीलता भए गाउँमै बसेर समृद्धि सम्भव छ ।”

चन्द्रबहादुर कार्कीको जीवनकथा गाउँमै बसेर इमानदार श्रम र लगनशीलताबाट सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ । विदेशमा मात्र भविष्य खोज्नु पर्ने होइन, आफ्नै माटोमा पसिना बगाएर पनि समृद्ध जीवन निर्माण गर्न सकिन्छ। कार्कीले देखाएको बाटोले स्पष्ट सन्देश दिन्छ“समृद्धि विदेशमा होइन, आफ्नै गाउँघरमा पनि सम्भव छ ।”

Leave a Comment