---Advertisement---

बिममा नौमती बाजाघर

On: January 29, 2026 8:46 AM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्जेबाजा समूहले दुई कोठे बाजाघर निर्माण गरेका हुन् । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा मौलिक लोकबाजा भण्डारण, संरक्षण र तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । मलिका गाउँपालिकाले रु. सात लाख ७६ हजार अनुदान सहयोग गरेको भवन निर्माणका लागि समूहले देउसीभैलो र चन्दा संकलन गरेर जुटाएको थप रु. दुई लाख २३ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो।

बिम–मालिका संघको सहयोगमा वि.स. २०७७ का पहिरो पिडितहरुको लागि एकिकृत बस्ति स्थापनाका लागि खरिद भएको जग्गामा भवन निर्माण भएको हो । उक्त ठाउँमा यसअघि म्याग्दी प्रवासी नेपाली संघ (मोना)को सहयोगमा १० वटा घर निर्माण गरेर एकिकृत सामुदायिक बस्ति स्थापना भएको थियो । भवनको गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जाली (सुविन)ले बुधबार उद्घाटन गर्नुभयो । जुग्जाली, वडा अध्यक्ष टकलाल पुनले बिमको मौलिक कला र संस्कृतिको संरक्षणका लागि भवन सहयोगी बन्ने अपेक्षा गर्नुभयो । उक्त भवनमा भेला, बैठक, तालिम सञ्चालन गर्न सहज भएको छ ।

व्यक्तिको घर, आगन र सार्वजनिक ठाउँमा भेला, बैठक सञ्चालन गर्नुपर्ने अवस्था हटेको छ । उक्त भवनमा मौलिक नौमति बाजाको संग्रहालयको रुपमा विकास गर्ने योजना रहेको छ । भवन उद्घाटन कार्यक्रममा पुर्वमन्त्री समेत रहेका जुग्जालीले बिम र डाडाँगाउँको बस्तिभित्र कालोपत्र हुने गरि खारा–बिम सडक स्तरोन्नतिको आयोजना सञ्चालन भएको बताउनुभयो ।

यसैगरी मालिका गाउँपालिका–७ मा पर्ने प्रभुचेलामा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारबाट योजना भित्र्याएको र शिवरात्रीखोलामा मोटरेबल पुल निर्माणाधिन रहेको जानकारी दिनुभयो । यस वर्ष बिम–मराङ–मल्कवाङ सडक स्तरोन्नति आयोजनाका लागि रु. पाँच करोडको बहुबर्षीय ठेक्का आव्हानको तयारी भएको जानकारी दिनुभयो । वडा अध्यक्ष टकलाल पुनले वडाको विकासमा सबैसँग समन्वय गरेर विभेदरहित हिसाबले काम गरेको बताउनुभयो । जातीय भेदभाव अन्त्यका लागि पनि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

Leave a Comment