---Advertisement---

मुस्ताङ: थोरै मतदाता, कसिलो प्रतिस्पर्धा

On: January 29, 2026 11:02 AM
Follow Us:

मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुदेश गुरुङले यस पटक समानुपातिक रोजेपछि मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी विगतको निर्वाचनमा प्राप्त मत र मतदाता आफ्नो पकटमा रहेको अनुमानलाई यस पटक रास्वपाले नयाँ उम्मेदवार मैदानमा ल्याएपछि विगतको भन्दा निकै रोचक बनेको छ । 

थेरै मतदाता, कसिलो प्रतिस्पर्धा हुने मुस्ताङमा नेपाली कांग्रेसबाट निवर्तमान प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीबिच मुख्य प्रतिस्पर्धा रहेको छ । जिल्लामा विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको अनुमान गरिए पनि यस पटक नेकपाले विगतको चुनावको समेत अनुभव भएका नेतालाई उम्मेदवार बनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशभरको माहोललाई हेरेर युवालाई उम्मेदवार बनाएपछि मुस्ताङका उम्मेदवार मतदाता आफ्नो पक्षमा पार्न व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) आफ्नो पक्षमा परिणाम पर्ने दाबी गरेको अवस्थामा नेकपा र रास्वपाले यस पटक मुस्ताङबाट खाता खोल्ने योजना बनाएका छन् । 

विगतमा पुराना दलले आफ्नो एकलौटी मत ल्याउने क्षेत्रहरू यस पटक नयाँ मतदाता र मतदातामा देखिएको असन्तुष्टिको असर पर्ने जोखिम छ । यस पटक तिनै ठुला दल एकल प्रतिस्पर्धामा रहेको अवस्था देखिन्छ । नेपाली कांग्रेसले अघिल्लो पटक फराकिलो मतान्तरसहित विजय भएको अवस्थामा संसद् विघटनअगाडिसम्म गरेका विभिन्न विकास निर्माणसहित कोरला नाकालाई व्यावसायिक सञ्चालन, भौतिक पूर्वाधारका कारण यस पटक बाँकी काम पूरा गर्न मतदाताले रोज्ने विश्वास गौचनको छ । 

नेकपा (एमाले) बाट उम्मेदवार इन्द्रधारा डाढु विष्टले यस पटक उपल्लो मुस्ताङबाट एकल प्रतिनिधित्व हुने गरी चुनावी मैदानमा रहेकाले तल्लो र माथिल्लो क्षेत्र जोड्ने पुलको भूमिका खेल्न मतदातामाझ आएको बताउनुभयो । २०७४ सालको गण्डकी प्रदेश सभामा मुस्ताङ (क) बाट विजय भएर प्रदेश सभा सदस्यको अनुभवसँगै विभिन्न क्षेत्रमा सक्रिय भएकाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको योग्य उम्मेदवार भएको विष्टको दाबी छ । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुस्ताङमा ‘टाइगर’ नामले चिनिने गुरुङले यस पटक नेकपाले देशभर पहिलो खाता मुस्ताङबाट खोल्ने दाबी गर्नुभयो । रास्वपाका उम्मेदवार गौचनले तीन ठुला दलका गतिविधिकै कारण संसद् विघटन भएर चुनाव गर्नुपर्ने बाध्यता भएको बताउँदै यस पटक रास्वपालाई बहुमतको सरकार बनाउन मुस्ताङले योगदान गर्ने बताउनुभयो । 

मुस्ताङमा आमजनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन उम्मेदवार हुनुहुन्छ ।    हरिकृष्ण शर्मा/गोरखापत्र अनलाइन

Leave a Comment