बेनी, १५ माघ । नेपाली कम्युनिष्ट पार्टीबाट आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले कानुनमा म्याग्देलीका समस्या सम्बोधन गर्ने, योजना र बजेटमा म्याग्दी देखिने गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रेस सेन्टर नेपाल म्याग्दीले २२ औ स्थापना दिवसको अवसरमा बिहिबार बेनीमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा थापाले आफ्ना अनुभव देखि भावी योजना सुनाउनुभयो । “संघीय कानुन, बजेट र योजना निर्माणमा म्याग्देली जनताको भावना, अपेक्षा र समस्याको सम्बोधन गराउन देशले म्याग्दीलाई सुन्ने र चिन्ने गरेर आवाज उठाउछु,” उहाँले भन्नुभयो “म्याग्दीले प्राप्त गरेको हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वयन गराउन प्राथमिकता दिन्छु ।”
म्याग्दी, कालीगण्डकी र राहुघाट कोरिडोरको सडक लगायत भौतिक पूर्वाधारको क्षेत्रमा सन्तुलित विकास गर्ने, सार्वजनिक निकायको सेवा प्रवाहमा हुने ढिलासुस्ति र बेथितिको अन्त्य गरि सरकारी कार्यालयलाई ‘होटलको जस्तो स्वागत र बैंकको जस्तो छिटो छरितो, पारदर्शी र प्रबिधीमैत्री’ बनाउने बताउनुभयो ।
उज्यालो म्याग्दी कार्यक्रमलाई पूर्णता दिने, निर्माणाधिन जलविद्युत र प्रशारण लाइन आयोजनालाई सहज रुपमा सम्पन्न गराउन, जलविद्युत आयोजनाका प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्वको बजेटलाई पारदर्शी र व्यवस्थित किसिमले कार्यान्वयन गराउन, प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाई आर्थिक स्तर उकास्न जोड दिने थापाले बताउनुभयो ।
धौलागिरि र अन्नपूर्ण लगायतका हिमालका आधार शिविर, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण, प्राकृतिक तातोपानी कुण्डहरु सहित धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रर्वद्धन गर्दै पर्यटनको माध्यमबाट आयआर्जन, रोजगारि सिर्जना र आर्थिक विकास गराउने थापाले बताउनुभयो ।
४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७ धारापानीका हुनुहुन्छ । शिवाङमा रहेको हेम (नमुना आवासीय) माविमा वि.स. २०५४ मा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक समितिको अध्यक्ष बनेर राजनीतिक यात्रा शुरु गरेका नेकपाका उमेद्वार थापा नेकपाको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्य हुनुहुन्छ । आर.आर. क्याम्पस र भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गरेका थापाले राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् । प्रतिस्पर्धी उमेद्वारहरुको तुलनामा थापा कम उमेरका हुन् ।
थापाको नेतृत्वमा काठमाडौमा स्वतन्त्र रक्तदाता समूहले बिरामीहरुलाई निशूल्क रगतको ब्यवस्था मिलाउदै आएको छ । ५२ पटक रक्तदान गरेका थापाले आफ्नो समूहले १० हजार जना भन्दा बढी बिरामीलाई उपचारका लागि निशूल्क रगतको व्यवस्था मिलाएको बताउनुभयो ।
भ्रष्ट्राचार र बेथितिका विरुद्ध काठमाडौमा विभिन्न अभियानको अगुवा गरेका थापाले बैदेशिक रोजगारीको क्रममा ठगिएका पिडितहरुको पक्षमा पैरवी गर्दै आउनुभएको छ । बुवा र आमाको नामबाट चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको छ ।










