आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनी चुनावी मैदानमा उत्रिनुभएका निवर्तमान शिक्षा मन्त्री महावीर पुन म्याग्दीका गाउँ गाउँमा पुगेर मतदाताहरु भेट्न व्यस्त हुनुहुन्छ । आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा पश्चिम म्याग्दीका विभिन्न गाउँहरुमा मतदाताहरुलाई भेटेर उम्मेदवार डा. पुनले आफ्ना कुरा सुनाउँदै ‘चित्त बुझे र मन लागे मलाई भोट देऊ,नभए नदेऊ’ भन्दै ठट्यौली शैलीमा मत मागिरहनुभएको छ । पैसामा मत बेचे भविस्यमा नातिनातिनालाई धोका हुने भन्दै टिप्पणी गदैं आफ्नो योजना सुनाइरहनुभएका पुनले पश्चिम म्याग्दीको धवलागिरी, मालिका हुदै शुक्रबार मंगला गाउँपालिकाको बरंजा क्षेत्रमा मतदाता भेटघाटमा ब्यस्त हुनुहुन्छ।

पुराना राजनीतिक दल र नेताहरुका कार्यशैली र प्रवृत्तिप्रति असन्तुष्टी व्यक्त गर्दै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा सन् २००७ का रोमन म्यागासेसे पुरस्कार विजेता समेत रहनुभएका उम्मेदवार पुनले आफूले चुनाव जितेशिक्षा,अनुसन्धान,नवप्रवद्र्धन,रोजगारी,अर्थतन्त्र र विकासका कुराहरु जनतालाई बुझाउँदै युवाहरुलाई रोजगार र उद्यमसँग जोडेर देशको अर्थतन्त्र सुधार गरी विकासका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरिरहनुभएको छ ।
त्रिभुज चुनाव चिन्ह लिएर मतदातासाँग भेट माग्न गाउँ पुग्नुभएका ७१ वर्षिय डा.पुनले मतदाताहरुसँग जेनजी पुस्ताको सपना र आवश्यकता पुरा गर्न आफूले योजनावद्धरुपले काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । पुनको सहज, सरल र ठट्यौली शैलीले ग्रामीण भेगमा चुनावी माहोललाई नयाँ रंग दिएको छ ।
मतदाताले उहाँलाई ‘व्यक्ति साधारण तर व्यक्तित्व असाधारण’ भएका उम्मेदवारका रूपमा हेरेका छन् ।“मलाई भोट दिन दबाब छैन, मन लागे दिनुहोस्, नलागे नदिनुहोस् । तर देशलाई अघि बढाउन शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्छ ” उम्मेदवार डा.पुनले भन्नुभयो ।

“मतदातासँग भेट गर्ने र मत माग्ने उहाँको शैली अनौठो र रोचक छ” धवलागिरि गाउँपालिका ४ का बलबहादुर भण्डारीले भन्नुभयो “पुनको मत माग्ने शैलीले ग्रामीण भेगमा चुनावी माहोललाई रमाइलो र आत्मीय बनाएको छ ।” पुनले विद्यालयदेखि विश्वविद्यालयसम्म गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने,अनुसन्धान र नवप्रवर्तन प्रोत्साहन गर्ने, विदेशिन वाध्य युवालाई उद्यमशीलता र प्रविधिसँग जोडेर स्वदेशमा नै रोजगारी सिर्जना गर्ने,स्थानीय उत्पादनलाई बजारसँग जोडेर ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने जस्ता प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
फागुन २१ गते हुने निर्वाचनमा त्रिभुज चिन्ह लिएर मैदानमा उत्रिएका डा. पुनले जनतालाई भन्नुभएको छ “मैले जिते शिक्षा, अनुसन्धान, रोजगारी र विकासलाई प्राथमिकता दिन्छ ।”पुन पश्चिम म्याग्दीका धवलागिरि र मालिका गाउँपालिका गाउँहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ । गाउँका चौतारो, मेलापात, चिया पसलदेखि विद्यालयसम्म पुगेर उहाँले जनतालाई आफ्नो दृष्टिकोण सुनाउँदै युवालाई रोजगारी र उद्यमसँग जोड्ने योजनाबारे जानकारी दिनुभएको छ ।
एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कांग्रेसकाबाट कर्णबहादुर भण्डारी(केबी) नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ,नेकपाबाट अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरेको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक,नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डा. महावीर पुन चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ति मध्य ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् । जिल्लामा ८२ वटा मतदानस्थल र १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ । उम्मेदवार गाउँमा देखिन थालेपछि चुनावी प्रचारप्रसारसँगै मतदाता भेटघाटका कार्यतालिका बनाउन स्थानीयस्तरका नेताहरु ब्यस्त छन् ।









