---Advertisement---

म्याग्दीका उम्मेदारहरुसँग प्रत्यक्ष सम्वाद (ककस)

On: January 31, 2026 2:43 PM
Follow Us:


ध्रुवसागर शर्मा
देशैभरी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुसँग प्रत्यक्ष सम्वाद गर्नुपर्छ भनेर चर्चा हुँदै गर्दा म्याग्दीमा शुक्रबार उम्मेदवार र जनताको बिचमा प्रत्यक्ष सम्वाद कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजले सदरमुकाम बेनीबजारको विरेन्द्रचोकमा आयोजना गरेको उक्त कार्यक्रममा जिल्लाका आठवटा राजनीतिक दलको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएका डा.महावीर पुन र नेपाली कम्यूनिष्ट पार्टीबाट उम्मेदवारी दिनुभएका अर्जुन थापाको भने उपस्थिति थिएन ।निर्वाचन अघि विभिन्न पार्टीका उम्मेदवारहरुलाई एकै ठाउँमा साथै राखेर उम्मेदवार र मतदाताबिच गरिएको प्रत्यक्ष सम्वाद कार्यक्रम म्याग्दीमा पहिलो पटक आयोजना गरिएको हो ।


उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी,नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवराज रोका,राष्ट्रिय जनमोर्चाका छेमबहादुर विक,राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्वर सुवेदी,नेपाल कम्युष्टि पार्टी माओवादीका क्षेत्रबहादुर घिमिरे,प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का देबेन्द्र कामी र श्रम संस्कृति पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएका बिनोद लामाले आफ्ना प्रतिवद्धताहरु व्यक्त गर्दै जनताले सोधेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।


सो अवसरमा नेका उम्मेदवार कर्ण ब भन्डारीले आफू कानुनको विद्यार्थी भएकोले संसदमा कानुन बनाउने कुरामा योगदान दिनसक्ने,नीति निर्माणमा भूमिका निर्वाहा गर्नसक्ने क्षमता आफूमा रहेको बताउँदै जिल्लाको लागि शिक्षा,स्वास्थ्य,रोजगारी,पर्यटन,जलविद्युत,प्राकृतिक स्रोतको उपयोग आदिलाई लाइफ लाइन बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी जातीय विभेद र छुवाछुत मुक्त समाज निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाहा गर्नुका साथै जिल्ला भित्र बन्द अवस्थामा रहेका खानीहरुलाई पुनः सञ्चालन गरी रोजगारीका अवसर सृजना गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।


त्यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले संसदबाट सुशासन,पारदर्शिता र जनतालाई शिघ्र सेवा प्रवाहका लागि कानुन निर्माण गरी कार्यान्वयन गराउने, भ्रष्टाचार र बेथीतिको अन्त्य गर्दै समातामूलक समाज निर्माण गर्ने,जनताका लागि विकासका कामहरु गर्ने ,कृषि,यातायात, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य लगाएतका जनताका लागि अति आवश्यक पूर्वाधार विकासका कामहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । पार्टीले तयार पारेको घोषणा पत्र र आफूले जनतासँग गरेको प्रतिवद्धतालाई तलमाथि नगरी कन इमानदा भएर काम गर्ने उहाँको भनाइ थियो ।


त्यस्तै राष्ट्रिय जनमोर्चाका उम्मेदवार छेमबहादुर विकले गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोल पछि नेपालमा नयाँ परिस्थिति उत्पन्न भएको बताउँदै आन्दोलनको मर्म विपरित काम भैरहेकोले असहज अवस्था उत्पन्न भएको छ भन्नुभयो । उहाँले संघीय प्रणालीलाई आर्थिक स्थितिले धान्न नसक्ने भएकोले विकल्पको खोजी गर्नुपर्ने बताउनुभयो । दुई किसिमको शिक्षा नीतिले दुई वर्गका नागरिक उत्पन्न गरेकोले आफूले शिक्षामा जोड दिँदै,स्वास्थ्य,विकास र जनताका आवश्यकताहरुलाई मध्यनजर गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राप्रपाका डम्वर सुवेदीले एक ब्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा वस्न नपाउने नीति बनाउने, हिन्दुराज्यका लागि पहल गर्ने,जयन्ती,काली र मंगला नदीको संगम स्थलमा तीन मुखे पुल निर्माण गरी यस क्षेत्रलाई मेडिटेशन हबको रुपमा विकास गर्ने लगाएतका प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


त्यसैगरी रास्वपाका युवराज रोकाले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएकोले यसको अन्त्यका लागि आफू र आफ्नो पाटी लाग्ने,आर्थिक सुधारका कामहरु गरी देश र जिल्लालाई स्वावलम्वी बनाउने,प्राकृतिक स्रोत र साधनहरुको अधिकतम उपयोग गरि लाभ लिन सक्ने नीति बनाउने लगाएतका प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


त्यस्तै नेकपा माओबादीका उम्मेदवार क्षेत्रबहादुरघिमिरेले गणतन्त्र प्राप्ति लागि म्याग्दीबाट पनि ७१ जनाले सहाहद प्राप्त गरेका स्मरण गर्दै आफूले जिल्लाको गुरु योजना निर्माण गर्ने,वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने,कृषिलाई ग्रामीण अर्थतन्त्रको बलियो माध्यम बनाउने, प्रतिभावान र क्षमतावान व्यक्तिहरुलाई एकिकृत गर्ने लगाएतका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देबेन्द्र कामीले आफूले परिआएको खण्डमा जनताका जुनसुकै काम पनि गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने श्रम संस्कृति पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएका बिनोद लामाले जनतालाई श्रमसँग जोडेर जिल्लालाई समृद्ध बनाउने वाचा गर्नुभएको थियो ।

Leave a Comment