---Advertisement---

अब बेनी-नयाँ दिल्ली सिधा बस सेवा

On: January 31, 2026 4:23 PM
Follow Us:



हरिकृष्ण गौतम
म्याग्दीको सदरमुकाम बेनीबाट अब सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली जान सकिने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आगामी माघ २१ गतेदेखि हरेक दिन विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने छ । शनिबार सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्राउन यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने ट्राभल्स अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो ।


‘अब भारत जाने यात्रुलाई बेनीबाटै बस सेवा सञ्चालन हुन्छ, हामीले उपचारका लागि जाने विपन्न यात्रुलाई निशुल्क सेवा समेत दिन्छौ’ अध्यक्ष अधिकारीले भन्नुभयो । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने अध्यक्ष अधिकारीको भनाई छ ।

बेनीबाट यात्रुको माग अनुसार थप सेवाहरु समेत सञ्चालन गर्न सकिने सृष्टि यातायात प्र्रालिका अध्यक्ष कृष्णप्रसाद पोडेलले बताउनुभयो । बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर निर्धारण गरिएको छ ।

यसैबीच भारतको सरोजनी नगरबाट हरेक दिन साझ ४ बजे बस बेनीतर्फ प्रस्थान गर्ने छ । पत्रकार सम्मेलनमा धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी, म्याग्दी कोरला प्रालिका अध्यक्ष मोहन केसी लगायतको उपस्थिती रहेको थियो ।


आधुनिक सुविधा रहेको बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिन्छ । छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरम बार्षिक १ लाखभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट भारत जान यसअगाडी पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

म्याग्दीबाट २७ घन्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ । म्याग्दीबाट रोजगार, शिक्षा, उपचार सहित अन्य विभिन्न कामले समेत भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्ने भन्दा निकै सस्तो भाडा,लुटिने जोखिम समेत कम हुने यातायात ब्यवसायीको भनाई छ । यसैबीच यात्रुले यात्रा गर्दा आफ्नो परिचय खुल्ने कागजात अनिवार्य प्रयोग गर्नुपर्छ ।

Leave a Comment