म्याग्दीको ग्रामिण क्षेत्रमा धमाधम ब्याडमिन्टन कबर्डहल निर्माण हुन थालेको छ । बेनी नगरपालिका–४ थामडाँडामा ब्याडमिन्टन कबर्डहल निर्माण भएको छ । वडा कार्यालय ,समुदाय र प्रवासमा रहेका स्थानीयबासीको २० लाख बढी लगानीमा ब्याडमिन्टन कवर्डहल निर्माण भएको नवनिर्मित कवर्डहलको शनिवार उद्घाटन गरिएको छ ।
कवर्डहलको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछानेले खेलकुद पुर्वाधार विस्तारका लागि समुदायस्तरमा भइरहेको सक्रियतालाई आवश्यकता अनुसार सहयोग हुने बताउनुभयो । न्युन सरकारी बजेटमा दोब्बर सहयोग र श्रमदान जुटाएर खेलकुद पूर्वाधार निर्माण गरी स्थानीयबासीले उदाहरणीय कार्य भएकाले यसलाई ब्यवसायिक खेलाडी उत्पादनका लागि समेत सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

आर्थिक बर्ष २०७९÷०८० देखि निर्माण सुरु भएको कवर्डहल निर्माण कार्यले पूर्णता पाएसंगै नियमित खेलकुद गतिविधि हुने कवर्डहल निर्माण अभियानका संयोजक सुमन गुरुङले बताउनुभयो । कवर्डहलको पूर्वाधार निर्माण गर्न दुई बर्षमा गरी वडा कार्यालयबाट ७ लाख बजेट विनियोजन भएको थियो भने स्थानीयबासीले देउसी भैलोबाट २ लाख १ हजार ३०८ र प्रवासमा रहेका स्थानीयबासीबाट ११ लाख ६२ हजार ८०२ थप सहयोग गरी कुल २० लाख ६४ हजार ११० खर्च भएको संयोजक गुरूङको भनाई छ ।

बेनी नगरपालिका– ४ का वडा अध्यक्ष अणबहादुर खड्का(भगवान)ले थामडाँडा, सिंगा र तातोपानीमा गरी तीन स्थानमा ब्याडमिन्टन कवर्डहल निर्माण भएको र पूर्वाधार बनाउन वडा मार्फत ३३ लाख खर्च भएको र समुदायको सहयोग र श्रमदान जुटाएर ब्याडमिन्टन कवर्डहलहरु निर्माण भएको बताउनुभयो ।
कवर्डहल उद्घाटन समारोहमा बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा सदस्य सन्दिप खत्री, नेपाली कम्युनिष्ट पार्टीका तेजबहादुर बानियाँ, नेपाली काँग्रेसका सुमन बानियाँ, नेकपा एमालेका तुलप्रसाद श्रेष्ठ,बालमखोला सिंचाई उपभोक्ता समितिका अध्यक्ष भिम गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

थामडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवबहादुर घलेको अध्यक्षता, समुन गुरुङको स्वागत र भृकुटी आधारभूत विद्यालयका निवर्तमान प्रअ शेरबहादुर गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । एउटा मात्रै कोर्डमा खेल खेल्ने पूर्वाधार सहित करिब १५० जना दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिएको छ । तस्वीर सौजन्य सुमन बानियाँ








