---Advertisement---

तातोपानी कुण्डमा दैनिक चारसय बढी बिरामी

On: February 1, 2026 2:12 PM
Follow Us:

प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा अवस्थित तातोपानी कुण्डमा डुब्न आउने विरामीहरुको भीडले कुण्ड खचाखच भरिएको छ ।

नेपालका विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुको अन्तिम उपचारस्थल बन्दै गएको तातोपानी कुण्डमा माघ लागेयता डुवेर उपचार सेवा लिन आउनेहरुको भीड बढेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

समितका अध्यक्ष कृष्ण खड्काकाअनुसार कुण्डमा एक पटकमा ३५० देखि ४०० जनासम्मले स्नान गर्न सक्छन् । ७ दिन स्नानका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शूल्क तोकिएको छ । अहिले दैनिक चारसय बढी व्यक्तिले तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिइरहेका छन् ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा बिहान र बेलुकी डुब्ने गरिन्छ । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काकाअनुसार बिरे नूनको गन्ध नआउने पानी संकलन गरिएको छ । यो पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेकोलगायत निको हुने जनविश्वास छ ।

तातोपानी कुण्डको आम्दानीबाट स्थानीय सरस्वती माध्यमिक विद्यालयमा वार्षिक रु १२ लाख सहयोग हुने गरेको छ । तातोपानी कुण्डको आम्दानीबाट विद्यालयमा दरबन्दी बाहेकका तीन जना शिक्षक राखेर पठनपाठन गरिदै आइएको छ ।

“तातोपानी कुण्डको आम्दानीबाट यहाँको सरस्वती माध्यमिक विद्यालयमा शिक्षक राखिएको छ ” तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले भन्नुभयो “शिक्षकलाई तलब खुवाउनका लागि वार्षिक रु १२ लाख विद्यालयलाई दिने गरिएको छ ।

गत वर्ष कुण्डबाट रु एक करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । प्रवेश शुल्कलगायत विभिन्न शीर्षकबाट प्राप्त सो आम्दानी शिक्षा, पूर्वाधार निर्माण, कर्मचारीको तलवभत्ता, नगरपालिकालाई करलगायतमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकालाई कुण्डको कुल आम्दानीको २५ प्रतिशत र आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत कर बुझाउने गरिएको र बाँकी रहेको रकम कुण्ड व्यवस्थापन,पूर्वाधार निर्माण, कर्मचारीको पारिश्रमिक र विद्यालयलाई सहयोगमा खर्च हुनेगरेको उहाँले बताउनुभयो ।

अध्यक्ष खड्काकाअनुसार यस वर्ष रु आठ लाखको लागतमा तातोपानीमा नुहाउन आउने महिला र पुरुषहरुका लागि कपडा फेर्ने अलग अलग कोठा निर्माण गरिएको छ । त्यसैगरी रु २० लाखको लागतमा प्राचिनता झल्कने कलात्मक प्रवेशद्धार (गेट) निर्माण गरिएको छ ।

Leave a Comment