न आफ्नो निर्वाचन क्षेत्र हो, न त आफू यहाँका मतदाता हुन् । तर, शनिबार मलाई मत दिनुहोस भन्दै थिए म्याग्दीमा नेकपा (एमाले)बाट उमेदवार बनेका हरिकृष्ण श्रेष्ठ । उनीमात्रै होइन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अर्जुन थापा पनि शनिबार पोखरामा मत माग्दै थिए ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यो बेला प्रतिनिधिसभा सदस्यका उमेदवारहरूले गाउँघरमा घरदैलो गर्न छाडेर अन्यत्र गर्न बाध्य भएका छन् ।
बसाइँसराइकै कारण गाउँ रित्तिएसँगै बजार झरेका मतदातालाई भेट्दै भोट माग्न उनीहरू पोखरा आएका हुन् । शनिबार उनीहरूले पोखरामा मतदाता भेटघाट तथा अन्तर्क्रिया गरे ।
श्रेष्ठ नेकपा (एमाले) म्याग्दी म्याग्दी पोखरा सम्पर्क कमिटीको आयोजनामा पोखरामा भेटघाट तथा अन्तरक्रियामा सहभागी थिए ।
नेकपाका थापाले शुक्रबार पोखरामा रहेका मतदाताहरूसँग भेटघाट तथा अन्तर्क्रिया गरे ।
पोखरामा भएको कार्यक्रममा एमालेका उमेदवार श्रेष्ठले आफ्नो अनुभव र एजेन्डाले गर्दा म्याग्दीमा आफूले जित्नुपर्ने दाबीे गरे ।
नेकपाका थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दा हासिल गरेको अनुभवलाई म्याग्दीको विकास तथा सम्बृद्धि, सुशासनका पक्षमा लगाउन उमेदवार बनेको बताए । म्याग्दीमा प्रतिनिधिसभा सदस्यका लागि १३ जनाको उमेदवारी रहेको छ ।
एकाध दिनमा नै कांग्रेसबाट उमेदवार बनेका कर्णबहादुर भण्डारीदेखि अन्य दलका उमेदवार पनि पोखरा र काठमाडौंमा छरिएका मतदातालाई भेट्न जाँदै छन् ।
बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभावमात्र होइन यसले राजनीतिक क्षेत्रमा समेत निकै प्रभाव पारेको छ ।
म्याग्दी त कम्तीमा पायक नै छ । तर, समस्या चाहिँ मुस्ताङलाई छ । दशैँ मानेर तिहार सकिएपछि मुस्ताङवासीहरू जिल्ला छाड्छन् । बढ्दो चिसोबाट बच्न तथा व्यापारका लागि उनीहरू पायक पर्ने सहरदेखि भारतसम्म पुग्छन् । फागुन सकिएर गर्मी बढ्न थालेपछि मात्रै उनीहरू जिल्ला फर्कन्छन् ।
अहिले मुस्ताङ हिउँले सेताम्मे छ । नागरिकहरू पनि जिल्लाबाहिर छन् । तर, यो वर्षको मुस्ताङ हिउँको चिसोमा पनि चुनावी सरगर्मीले तातेको छ । हिमाली जिल्लामा मंसिर पछाडि र चैत अगाडिको चुनाव साह्रै कठिन हुन्छ । उमेदवारहरूले पनि मतदातालाई सहजै भेट्न पाउँदैनन् । चिसोका कारण मतदाता पनि जिल्ला फर्किन सहजै राजी हुँदैनन् ।
यस्तोमा उमेदवारले नै मतदातालाई लैजानुपर्छ । अपायक समयको चुनावले झनै खर्च बढाउने मुस्ताङबाट उमेदवारी दिएका उमेदवारहरू बताउँछन् ।
अहिलेको समयमा मुस्ताङवासीहरू आधाभन्दा बढी पोखरा र तल्ला सहरहरूमा झरिसकेका छन् । वर्षाभर गाउँमा खेती किसानी गर्ने र हिउँद लागेपछि बेँसी झरेर व्यापारका लागि डुल्ने उनीहरूको सदियौँदेखिको चलन हो । लोमान्थाङ र लो घेकरका सबैजसो पोखरा, बेनी, बागलुङ लगायतका क्षेत्रमा छरिन्छन् ।
मुस्ताङका विद्यालय र गुम्बा स्कुलहरू समेत तल्ला क्षेत्रमा सारिएको छ । हिउँदयाममा उत्तरी मुस्ताङका सबै स्कुलहरू घुम्तीका रूपमा पोखरा र आसपासमा चल्छन् ।
यही सहरी क्षेत्रमा नै मतदाता भेट्दै उमेदवारहरूले मत मागिरहेका छन् । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा एमालेले इन्द्रधारा ढाडु विष्टलाई उमेदवार बनाएको छ । २०७४ को प्रदेशसभा निर्वाचनमा मुस्ताङ ‘क’ बाट निर्वाचित भएका थिए । २०७९ मा पनि उनी प्रदेशसभामा दोहोरिएका थिए । तर, जित हासिल गर्न सकेनन् । उपल्लो मुस्ताङका विष्टलाई अहिले एमालेले उमेदवार बनाएको छ ।
पोखरामा रहेको मुस्ताङीलाई भेटेर अहिले उनी काठमाडौंका मतदाता भेट्दै छन् । “पोखरामा सकेँ, अहिले काठमाडौंमा घरदैलो गर्दै छु,” उनले भने ।
विष्ट पर्यटन, कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका एजेन्डा लिएर मतदातासामु पुगेका छन् ।
मुक्तिनाथदेखि दामोदरकुण्ड हुँदै कैलाश पुग्ने रुटको व्यवस्था गर्ने, खम्पा क्याम्पलाई पश्चिमी तथा अमेरिकन पर्यटकलक्षित गरी व्यवस्थापन गर्ने, कृषि आधुनिकीकरण, कोराला नाकाको व्यवस्थापन तथा भू–बन्दरगाहको रूपमा चिनाउने योजना उनको छ । उपल्लो मुस्ताङमा विदेशीलाई गरिएको निषेधित क्षेत्र हटाउने योजना उनले मतदातासामु राखेका छन् ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको लागि गत माघ ६ गते मनोनयन दर्ता भइसकेको छ । तर, त्यसको एकदिनअघि निर्वाचन आयोगले नेपाली कांग्रेसले बुझाएको बन्दसूची संशोधन गर्दै आदिवासी जनजाति क्लष्टरतर्फ २ नम्बरमा रहेका रोमी गौचनको नाम हटाएको थियो । जबकी भोलिपल्ट अर्थात् ६ गते उनै रोमीका छोरा योगेश गौचनले प्रतिनिधिसभामा कांग्रेसबाट उमेदवारी दिएका छन् ।
बाबुको नाम समानुपातिकमा र छोरा प्रत्यक्षमा चुनाव लड्दा परिवारवादको आरोप लाग्ने डरले नै रोमीले आफ्नो नाम हटाउन निवेदन दिएका थिए ।
योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेका थिए । तर, कार्यकाल पूरा गर्न पाएनन् । उनलाई कांग्रेसले फेरि उमेदवार बनाएको हो । तर, पारिवारिक समस्याका कारण उनी मतदातासामु गइसकेका छैनन् । व्यापारका लागि मतदाता भारतसम्म पुगेको र फागुनअघिको चुनाव मुस्ताङको लागि अपायक पर्ने उनको भनाइ छ । हप्ता १० दिनपछि मात्रै मतदातासामु जाने कार्यक्रम योगेशले बनाएका छन् ।

नेकपाले मुस्ताङमा ‘टाइगर’ उपनामले चिनिने ङुटुक गुरुङलाई उमेदवार बनाएको छ । यसपटक नेकपाले देशमा पहिलो खाता मुस्ताङबाट खोल्ने उनी जिकिर गर्छन् । कृषि, खेलाडी र निर्माण व्यवसाय पृष्ठभूमिका गुरुङ कृषि फार्मका सञ्चालक समेत हुन् । उनी ०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि उमेदवार बनेर हारेका थिए ।
यसपल्ट मुस्ताङीले रास्वपालाई रोज्ने उमेदवार अधितीय चन्द्र थकालीको जिकिर छ । उनी नयाँ अनुहार हुन् । तीन ठूला दलका गतिविधिकै कारण संसद् विघटन भएर चुनाव गर्नुपर्ने बाध्यता भएको भन्दै उनी यसपटक रास्वपालाई बहुमतको सरकार बनाउन मुस्ताङले योगदान गर्ने बताउँछन् ।
उनीहरूबाहेक मुस्ताङमा आम जनता पार्टीबाट अजय विक, मंगोल नेसनल अर्गनाइजेसनका यमबहादुर गुरुङ, राप्रपाबाट कमला लालचन र उज्यालो नेपालका डा. सुरेन्द्र शेरचन उमेदवार छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा गरी ३९ मतदानस्थल कायम छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो बनेको थियो । एमालेले तीन हजार ४०४ मत ल्याउँदा एमालेले दुई हजार ४८६ मत प्राप्त गरेको थियो । तत्कालीन माओवादी केन्द्रले ९८९, रास्वपाले २९९, राप्रपाले २०७, तत्कालीन नेकपा एसले ५५ मत ल्याएको थियो ।
आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङमा १० हजार ९५७ मतदाता छन् । तीमध्ये पाँच हजार ५८१ महिला, पाँच हजार ३७५ पुरुष र अन्य एक मतदाता रहेका छन् ।














