आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठले सोमबार मंगला गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर ममतदाताहरुसँग भेटघाट गर्नुभएको छ । मंगला गापा–४, धापुङ, सोलधारा, वडा नं २ को ज्यामिरे, लाम्पाटामा रहेका मतदातासँग आफ्नो चुनावी प्रतिबद्धता सहित जिल्लामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका कार्यहरुबाट समेत मतदाताले आफ्नो पक्षमा मतदान गर्ने बताउनुभयो ।

‘म्याग्दीलाई हिमाली जिल्ला घोषणा पनि हाम्रो प्रयासमा भएको थियो,अहिले घोषणासँगै कार्यान्वयनको चरणमा छ, हामीले हिमाली जिल्लाको सबै सुविधा ल्याउन निरन्तर दवाब दिइरहेका छौ, पश्चिम म्याग्दीका विकास निर्माणको सुरुवातकर्ता नै एमाले हो’ उम्मेदवार श्रेष्ठले भन्नुभयो । नेकपा एमालेले बेनी नगरपालिका, रघुगंगा सहित पश्चिम म्याग्दीमा चुनावी अभियान एकसाथ अगाडी बढाइरहेको छ।
चुनावी भेला सहित चुनावलाई लक्षित गर्दै प्रचार–प्रसारलाई थप व्यवस्थित र आक्रामक बनाउने निर्णय गरेको नेकपा एमालेले डिपिआर सहित तयार गरेका भौतिक संरचनाहरुले अहिले गति लिएको बताउँदै केवल आश्वासन होइन, काम गरेर देखाउने संकल्पका साथ मैदानमा आएको उम्मेदवार श्रेष्ठको भनाई छ ।

अभियानमा समानुपातिकतर्फकी उम्मेदवार नरदेवी पुनले मंगला गाृउँपालिका भित्र आफ्नो कार्यकालमा धेरै योजना भित्रिएको बताउनुभयो । बेनी दरबाङ सडकखण्ड अपुरो हुदाँ आफ्नो कार्यकालमा कालोपत्रे सहितको योजना भित्रिएको बताउनुभयो । आफ्नो कार्यकालमा गरेका कामहरु जनताको नजिक रहेकाले पार्टीको नीति र योजना नै देश विकासको मेरुदण्ड भएको बताउनुभयो ।









