म्याग्दीमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लाका स्थानीय तहका प्रमुख र अध्यक्षको उपस्थितिमा निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रममा सरकारी साधनस्रोतको दुरुपयोगलाई निगरानी गरिने बताइएको थियो ।
म्याग्दीमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले निर्वाचन आचारसंहिता, २०८२ मा भएका व्यवस्थाहरु, सबैले पालना गर्नुपर्ने आचरण, स्थानीय कार्यपालिकाका प्रमुख र पदाधिकारीहरुले पालना गर्नुपर्ने आचरण, सरकारी कार्यालय, संस्थान र विद्यालयमा कार्यरत कर्मचारी र शिक्षकले पालना गर्नुपर्ने आचरण, निर्वाचन व्यवस्थापनमा विभिन्न निकायहरुबीचको समन्वयको आवश्यकता सम्बन्धमा सहजीकरण गरेका थिए ।

जिल्लाका पालिका प्रमुखले निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्ने भएपनि प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको निर्वाचन अधिकारी गौतमको भनाई छ । आफू निर्वाचित भएको स्थानीय तह भन्दा बाहिर राजनीतिक दलको प्रचारप्रसार गर्न पाउने भए पनि त्यसरी प्रचार गर्दा सरकारी साधन र स्रोत प्रयोग गर्न नहुने, सरकारी कार्यालयका भवन, सभाहल, मैदान समेत प्रयोग गर्न पाइने छैन ।
निर्वाचन आचारसंहिता पालना गर्न गराउन सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले निर्देशन दिएका थिए । कार्यक्रममा जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखहरु समेतको सहभागिता रहेको थियो।










