म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँ को जंगलमा वेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएका दुई थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयको सूचनामा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले बरामद गरेको हो । जंगलमा राखेर रातको समयमा चोरी शिकारीमा प्रयोग हुने गरीको प्रहरीको अनुमान छ ।
बन्दुक बरामद गरेपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । म्याग्दीको ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत १ सय १५ थान बन्दुक फेला पारिएको थियो भने बेवारिसे अवस्थामा थप बन्दुक बरामद गरेको छ । जिप्रका म्याग्दीले जिल्लाभरका यूनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अप्रेशन चलाएको थियो ।
निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११ थान, अन्नपुर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८ थान, मङ्गला गाउँपालिकाबाट १४ थान, मालिका गाउँपालिकाबाट २० थान, धवलागिरी गाउँपालिकाबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको बाहेक यस अगाडी समेत थप ५ थान भरुवा बन्दुक जंगलमा फेला पारिएको थियो । म्याग्दीमा अवैध बन्दुक भएमा प्रहरीलाइ बुझाउन वा खवर गर्न अनुरोध गरिएको छ । अबैध बन्दुक सहित फेला पारेमा ५ बर्ष कैद र ५० हजार जरिवानको कानुनी ब्यवस्था रहेको छ ।
File photo










