म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङका धनबहादुर तुलाचनले ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र लिनुभएको छ । २१ बर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका तुलाचनको परिवारसँग पुनर्मिलन भएपछि कानुनी प्रक्रिया पूरा गरी बुधबार प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आर्चायले नागरिकता प्रदान गर्नुभएको छ ।
भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैंचामा काम गदैै आउनुभएका तुलाचनका नागरिकता विहिन हुदाँ विभिन्न सेवासुविधाबाट बन्चित हुनुपरेको बताउनुभयो । ‘भारतमा गएपछि स्याउ फार्ममा लामो समय काम गरे, घर फर्किने वातावरण नै बनेको थिए, बुढेशकालमा आउन लेखेको रहेछ’ नागरिकता प्राप्त गरेपछि तुलाचनले भन्नुभयो ।
दुई छोरा, श्रीमतिको परिचय तथा आफ्नो कमाइले किनेको जग्गाजमिन समेत आफन्तको नाममा पास गर्नुपरेको अवस्थामा नागरिकता भएपछि अब बुढेशकालमा बाँकी काम गर्ने तुलाचनको भनाई छ । सात दशकपछि प्राप्त भएको नागरिकताको प्रमाणपत्रले धनबहादुरको परिवारमा नयाँ आशा थपेको छ ।गाउँबाट परिवारलाई भर्ती हुने भन्दै भारत जानु भएका तुलाचनको बेपत्ता भएको ५५ बर्षपछि परिवारसँग पुनर्मिलन भएको समाचार बेनीअनलाइनले प्रकाशित गरेको थियो ।

नागरिकता बनेपछि धनबहादुरका साहिला दाई कृष्णप्रसाद तुलाचनले परिचयपत्र पाएपछि अब जग्गाजमिन सहित अन्य प्रक्रियाहरुमा समेत सहज भएको बताउनुभयो । लामो समयसम्म सम्पर्कविहीन भाई घर आएपछि परिवारमा खुसीयाली छाएको थियो अब नागरिकता पाएपछि झनै खुसी भएको कृष्णप्रसादले बताउनुभयो । घरमा आएपछि वडा कार्यालयमा पुगेर नागरिकता बनाउनका लागिसबै प्रमाण जुटाएपछि नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यको भनाई छ ।









