---Advertisement---

महावीरको सिधा कुराः ‘मेरो पारा यस्तै हो’

On: February 4, 2026 7:15 PM
Follow Us:

डाँडाखानी गाउँका दाजुभाई दिदीबहिनीहरु, महावीर पुन आएको छ, चुनावमा उम्मेद्वार भएर आएको छ। ल भेटघाट गर्न चाहनेहरु आउनुस। प्रश्न छ भने सोध्नुस, भोट दिन मन लागे भोट दिनुस। आयो, ल, दाजुभाई दिदिबहिनी, उताउताबाट पनि आउनुस, यताबाट पनि आउनुस। भोट दिन मन नलागे के गर्ने भन्ने एकजना महिलाको प्रतिक्रियाको जवाफमा पुनले भनेका छन, अ, नदिएपनि हुन्छ।

सामाजिक संजाल टिकटकमा केहीदिन अघि पोष्टिएको महावीर पुनको चुनावी प्रचार भिडियोमा हजारौंले प्रतिक्रिया दिँदै अधिकांशले बधाईको शुभकामना पस्किएका छन। पुनको निर्वाचन प्रचारप्रसारको शैलीको प्रशंसा गर्दै कतिपयले मत दिउँदिउँ लाग्ने बनाएको भनेर प्रतिक्रिया दिएका छन। हजारौले मन पराएका पुनका भिडियोमा प्रतिक्रिया दिँदै निर्वाचनको प्रचार शैली अरु दलको भन्दा भिन्न रहेको भन्ने जवाफ दिएका छन।

जेनजी आन्दोलनपछि शिक्षामन्त्री बनेका पुन मन्त्री पद छाडेर एकाएक म्याग्दीमा स्वतन्त्रबाट उम्मेद्वारी दिएर निर्वाचनमा होमिएमा थिए। मन्त्री हुँदाको जीवनशैलीले चर्चा कमाएका पुनको निर्वाचन प्रचारशैलीले पनि अहिले धेरैलाई तानेको छ। साधारण जीवनशैली, तडकभडकबिनाको निर्वाचन प्रचारप्रसारको तरिकाले पनि धेरैको ध्यान पुनतिर खिचेको छ। आफैले बनाएको भिडियो सामाजिक संजालमा पोष्टिँदै पुनले गाउँले पाराले मतदातासँग मत मागिरहेका छन। मतदाता भेट्न गाउँगाउँ जाने क्रममा उनले हिमाली श्रृंखलादेखि गाउँका सम्पदाको समेत प्रचारप्रसार गर्दै भिडियो साझा गर्ने गरेका छन।  

उनले साझा गरेको एउटा भिडियोमा भनेका छन, ‘म केही वाचा गर्दिन है, तपाईलाई मन पर्दैन भने नदेउ, मैले सकेको कुरा गर्छु। म मेरो फाइदाको लागि काम गरेको छैन अहिलेसम्म। मलाई पनि अरुसँग तुलना नगर। एक एकवटा पर्चा समात, राख, साथीभाईलाई पनि देउ। मलाई विश्वास लाग्छ भने, यो मान्छेले गर्ला जस्तो लाग्छ भने भोट देउ। म जानकारी दिन आएको हुँ।’ पुनले पोष्टिएका मध्ये मतदातासँगको भेटघाटका क्रममा एउटा भिडियोमा भनेका छन, ‘पैसामा कोही नबिक्नु। २/४ हजार पैसामा बिके नर्कमा गइन्छ। भविश्यमा छोरानातीलाई धोका हुनेछ। पैसामा बिकेमा छोरा नातीले दुख पाउँछन।’  

सामाजिक सञ्जालमा मात्र सन्देश प्रवाह नगरि पुन सक्रिय रुपमै अहिले निर्वाचनमा होमिएका छन। बुधबार दिउँसो सम्पर्क गर्दा पुन निर्वाचनकै प्रचारप्रसारका क्रममा म्याग्दीको चीमखोला पुगेका थिए। 

चीमखोलाबाट उनले नागरिकसँग भने, ‘म चुनाव प्रचारका लागि हिडेको छु। अहिले चिमखोला छु। मतदाताले भोट दिए भने जिन्छु। जे जे हुन्छ, हुन्छ, मेरो पारा यही नै हो।’ आफु स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा खटिएकोले उनले मतदाताबाट सहयोगको अपेक्षा रहेको पनि बताए। ‘घरदैलो गरिरहेको छु । गाउँमा युवापुस्ताका मतदाता त कम छन। तर, मेरो प्रचार शैली यही नै हो। मतदाताले मन लागे भोट दिन्छन, नत्र दिन्नन।’

जिल्लाबासी पनि पुनको प्रचारप्रसार शैलीबाट प्रभावित भएका छन। स्थानीय पत्रकार हरिकृष्ण गौतम भन्छन, ‘पुनको निर्वाचन प्रचार शैली अरु दलका नेताको भन्दा भिन्न छ। साधारण तरिकारले उनले प्रचार प्रसार गरिरहेका छन । मतदातालाई प्रलोभन देखाएका छैनन। आफ्नै लवजमा मतदातासँग भेटघाट गर्ने उनको शैली अरु दलका नेताको भन्दा भिन्न छ।’  

केहीदिन अघि प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामन्त्री हुँदा मन्त्री पुनले केही राम्रा काम गर्न प्रयास गरेको भएपनि त्यसमा सघाउन नसकेको भनेर प्रतिक्रिया दिएपछि त्यो भनाईपछि मतदाताको मन अझै पुनप्रति बलिएको उनी बताउँछन्। ‘मन्त्री हुँदा केही राम्रो गर्न खोजेका रहेछन भन्ने बल्ल अहिले अरुले पनि बुझ्ने मौका पाएका छन,’ उनले भने। प्रधानमन्त्री कार्कीले केहीदिन अघि मन्त्री हुँदा पुनले केही राम्रा कानुन बनाउन खोजेपनि छोटो समयमा ती कानुन बनाएर सघाउन नसकेको बताएकी थिइन।  

जिल्लामा अहिले कांग्रेसका तर्फबाट कर्णबहादुर भण्डारी तथा एमालेबाट हरिकृष्ण श्रेष्ठ उम्मेदवार छन। रास्वपाले पुनलाई नै सघाउने बताईसकेको छ। चुनावी प्रतिश्पर्धा हेर्दा ठुला भनिएका दलसँग एक्ला पुनको प्रतिश्पर्धा रोमाञ्चक बन्ने अनुमान स्थानीय बुद्धिजिविको छ। म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदी भन्छन, ‘रास्वपाले पुनलाई समर्थन गरेको तथा अहिलेका तरल अवस्थाका मतदाताको मत पुनतिर जाने सम्भावना पनि रहेको छ।’ पुन आफै जनजाती भएको र म्याग्दीका अधिकांश मतदाता जनजाती रहेकोले पनि पुनले मत तान्न सक्ने सम्भावना रहेको उनले बताए।  

‘मतदातामा अहिले भोट परिवर्तनको लहर पनि छ । त्यसको लाभ पुनले लिन सक्ने अनुमान छ। अरु दलका नेताको भन्दा फरक शैलीको पुनको प्रचारले धेरैतिर लोभ्याएको पनि छ,’ उनले भने, ‘साधारण जीवनशैली, प्रचारप्रसारमा तडकभडक नहुनु, खर्चमा नियन्त्रण, प्रचारप्रसारको स्थानीय लवज जस्ताले अहिले पुनलाई साथ मिल्न सक्छ।’ खर्च पनि निकै कम गरेर प्रचारप्रसार गरेको र गाउँगाउँका मतदाता भेटन् गाउँमै गएकोले पनि पुनतर्फ धेरैको ध्यान खिचिएको उनले बताए।

‘प्रचारप्रसारमा ठूलो टिम पनि छैन। सामान्य तरिकाले मत मागिरहेका पुनले सामाजिक सञ्जाल तताएका छन। म्याग्दीमा मात्र नभई सबैतिर अहिले पुनको चर्चा छ,’ उनले भने, ‘कसैलाई झुटा आश्वासन पनि उनले दिएका छैनन। मान्छेको मत पनि जितेका छन।’

शिक्षासम्बन्धी विधेयक पास नभएपछि मन्त्री छाडेको भनेर प्रधानमन्त्रीले केहीदिन अघि भनेको आधारमा पुनप्रति झनै आकर्षण बढेको उनले बताए। ‘पुन आफैमा विवादित पात्र पनि होइनन। उनीप्रति समाज नकारात्मक पनि छैन,’ उनले भने। पुनले अन्नपूर्ण गाउँपालिका–८, हिमाञ्चल माविमा वर्र्षाैअघि वायरलेस इन्टरनेट जडान गरेर पहिचान कमाएका थिए। पछि त्यहि गाउँमा होमस्टे संचालन गर्न पनि उनले सघाएका थिए।  

Leave a Comment