---Advertisement---

निर्वाचन नै यो सरकारको पहिलो जिम्मेबारी होः अर्थमन्त्री खनाल

On: February 4, 2026 7:05 PM
Follow Us:


म्याग्दी
अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य जिम्मेबारी भएको बताएका छन् । बुधबार जिल्लामा निर्वाचनको तयारी तथा सुरक्षा ब्यवस्थापनका बारेमा जानकारी लिन म्याग्दी आएका अर्थमन्त्री खनालले निर्वाचनको तयारी र सम्पन्नसम्मका लागि सरकार दिनरात खटिएको बताए। अर्थमन्त्री खनालले निर्वाचनमा आवश्यक पर्ने जनशक्ती, आर्थिक लगायतका सम्पुर्ण ब्यवस्थापनमा कुनै कमी नहुने बताए ।


‘निर्धारित मितिमै एकसाथ निर्वाचन हुन्छ, हिमाली क्षेत्रमा हिमपात भए सोहीदिन निर्णय हुन्छ’ अर्थमन्त्री खनालले भने । निर्वाचनलाई अर्थमन्त्री खनालले निरीक्षणको क्रममा जेन–जी आन्दोलनबाट भएको क्षती तथा निर्वाचनमा जेन जीको प्रभाव, उम्मेदवारलाई सुरक्षा जोखिमका बारेमा समेत चासो देखाएका थिए । जिल्ला निर्वाचन कार्यालयमा निरीक्षण तथा हालसम्म जिल्लामा भएको तयारीका बारेमा जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी गराएका थिए ।


मुख्य निर्वाचन अधिकृृत सुर्यबहादुर थापा,प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले जिल्लामा राजनीतिक दल, उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना गरेको बताएका थिए । जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना तथा मतदानस्थलको निरीक्षण, मतपेटिका ढुवानीमा हेलिकप्टरको आवश्यकता लगायतका विषयमा समेत छलफल भएको थियो । यसैबीच अर्थमन्त्री खनाल र सुरक्षा समितिको समेत बैठक बसेर आवश्यक सुरक्षा तयारीका बारेमा छलफल भएको थियो ।


आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता सङ्ख्या कायम भएको छ। बयालीस हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम भएको छ।

Leave a Comment