म्याग्दीको बेनी नगरपालिका ९ नम्बर वडा तोरीपानीमा सञ्चालित गलेश्वर माध्यमिक विद्यालयको ४५औं वार्षिकोत्सव दिवस मनाउन सुरु भएको छ । विद्यालयको आयोजनामा बुधवार एक समारोहबीच ४५औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो ।
४५औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर जिल्लास्तरीय अन्तरमावि छात्र एवं शिक्षक भलिबल प्रतियोगिता समेत सुरु गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले पछिल्लो समय विद्यालयहरुमा शिक्षक दरबन्दी र भौतिक संरचना भए पनि विद्यार्थी संख्या कम भएकाले विद्यार्थीहरुको आकर्षण बढाउनुपर्ने बताउनुभयो ।
नगर शिक्षा अधिकारी समेत रहनुभएका शाखा प्रमुख भण्डारीले विद्यार्थीहरुको संख्या वृद्धि गर्नुपर्ने विषय आवश्यकता र चुनौतीको रुपमा रहेकाले अब प्राविधिक धारतर्फ विद्यार्थी संख्या बढाउनुपर्ने बताउँदै नगरपालिकामार्फत शैक्षिक गुणस्तर वृद्धिमा आवश्यक पहल गरिएको बताउनुभयो । विद्यालयको क्षमताभन्दा अत्यन्त न्यून संख्यामा विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने वातावरण सिर्जना भएकाले विद्यार्थी आकर्षण गर्नका लागि विद्यालय, अभिभावक र सरोकारवाला निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

बेनी नगरपालिका ९ नम्बर वडाका अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक चक्रबहादुर केसीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र सरोकारवाला निकाय अनुशासित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू विद्यालयको पूर्व विद्यार्थी समेत भएको नाताले विद्यालयको सर्वाङ्गिण विकासका लागि वडा र नगरपालिकामार्फत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक गणेशबहादुर बानियाँले विद्यालयको शैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा अहिले कुल २ सय ५३ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको र ३५ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार वि.सं. २००९ सालमा आदर्श प्राथमिक पाठशालाको रुपमा स्थापना भई २०३७ सालमा माविको स्वीकृत प्राप्त गलेश्वर माविले २०४० सालमा पहिलोपटक तत्कालीन प्रवेशिका परीक्षा एसएलसीमा विद्यार्थीहरुलाई सहभागी गराएको थियो । २०६६ सालमा साधारण धारतर्फ उच्च मावि सञ्चालन गरेको गलेश्वर माविले २०७० सालमा प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गरेको थियो ।

कुल ५३ वटा कक्षाकोठाहरु रहेको विद्यालयमा साधारणतर्फ २० जना, प्राविधिक धारतर्फ ९, विद्यालय कर्मचारी ३, निजी सेतबाट २ र एकजना विद्यालय नर्स कार्यरत रहेका छन् । कार्यक्रममा कक्षा ५ को परीक्षामा औषत नतिजा ल्याउने शिक्षक र विद्यार्थी, कक्षा ८ को नगरस्तरीय परीक्षामा शतप्रतिशत नतिजा दिलाउने शिक्षक, कक्षा १० को एसईई परीक्षा र कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, आफूले अध्ययन गराउने विषयमा शतप्रतिशत नतिजा दिलाउन सफल शिक्षक, उत्कृष्ट चन्दादाता, अभिभावक, कर्मचारी र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक ल्याउन सफल विद्यार्थी र अन्य विद्यालयहरुमा आयोजित सांस्कृतिकलगायत विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट हुने विद्यार्थी कलाकारलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रमको मुख्य प्रायोजक २०४० सालको पहिलो एसएलसी व्याजका विद्यार्थीहरु रहेका छन् । यसैगरी कार्यक्रममा पूर्व विद्यार्थि, चन्दादाता, अभिभावक, शिक्षाप्रेमी तथा शुभचिन्त्कहरुबाट समेत सहयोग आएको विद्यालयका प्रअ बानियाँले बताउनुभयो । कार्यक्रममा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, राष्ट्रिय मावि नेप्टेचौरका प्रअ तारादेवी चोखाल र शिक्षाप्रेमी आनन्द रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा शिक्षाप्रेमी रिजालले आफ्नो बुबाआमा ठाकुरप्रसाद र टिकादेवी रिजालको सम्झनामा दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा १–५ का प्रवेश बरुवाल, कक्षा ६–१२ का रिदम केसी र ९–१२ का सन्देश राईलाई स्टेशनरी पुरस्कार दिनुभएको थियो ।

यसैगरी कक्षा १२ को बोर्ड परीक्षामा ४ जिपिए नतिजा ल्याउन सफल विद्यार्थी पुस्कल केसीलाई विषय शिक्षक किसान पुनले पाँचहजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको थियो भने विद्यालयले सबै उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गरेको जनाएको छ । सोही अवसरमा उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरुलाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितका अध्यक्ष जमुना श्रेष्ठको अध्यक्षता र सहायक प्रधानाध्यापक तेजबहादुर राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका लेखापाल सहायक सितल पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।









