---Advertisement---

दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

On: February 5, 2026 1:00 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन् । 

बयालीस घरधुरीको बसोवास रहेको दोसल्लो गाउँमा गतवर्ष सुन्तलाबाट एक करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिनुभयो । “गत वर्षको तुलनामा यसपाली बोटमा २५ प्रतिशत कम दाना लागेको छ,” उहाँले भन्नुभयो “बढी मूल्यमा सुन्तला बिक्री भएकाले गत गत वर्षकै हाराहारीमा आम्दानी भएको छ ।” बढी मूल्य पार्नका लागि माघ महिना लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । 

दोसल्लेको बगैँचाको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ । अझै ४० प्रतिशत सुन्तला बोटमै छ । किसान र व्यापारीहरूलाई सुन्तला टिपेर, ग्रेडिङ गर्ने र बजार पठाउने चटारो छ । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि याम सकिने समयमा सुन्तला टिप्न थालेका दोसल्लेका किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका अगुवा किसान खगबिर पाइजाले बताउनुभयो । “यसअघिका वर्षमा मङ्सिर–पुष महिनामा सुन्तला बिक्री गर्दा २० किलोको प्रतिक्रेट एक हजार सात सयमा बिक्री हुने गरेको थियो,” उहाँले भन्नुभयो “यसपाली प्रतिक्रेट दुई हजार पाँच सय मूल्यमा बिक्री भइरहेको छ ।” 

अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट तीन हजार दुई सयसम्म मूल्य तिर्न तयार भएका अर्का किसान विकास श्रेष्ठले बताउनुभयो । पोखरा र काठमाडौँका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । 

दोसल्लेका सबै घरले सुन्तला खेती गरेका छन् । गाउँबाट बसाइसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइसराइ गरेकाले समेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् ।

दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । रासस

Leave a Comment