---Advertisement---

म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

On: February 5, 2026 10:38 PM
Follow Us:

ध्रुवसागर शर्मा

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति अब केवल २९ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दल, उम्मेदवार, प्रमुख निर्वाचन अधिकृतको कार्यालय,,स्थानीय प्रशासन लगायत सम्वन्धित निकायहरु निर्वाचनको तयारीमा जुटेका छन् भने जनताहरु निर्वाचनको दिनको (फागुन २१ को) प्रतिक्षामा छन् ।

माघ महिनाको चिसोमा शरीर भरी न्यानो कपडा लगाएर उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेपछि लामो समयदेखि सुनसान देखिने गाउँबस्ती, सदरमुकाम बेनी बजार, सार्वजनिक स्थल र चिया पसलहरूमा चुनावी बहस सुरु भएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ,नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्वरबहादुर सुवेदी चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै,राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक,श्रम संस्कृति पार्टीबाट विनोद राना,नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे,मंगल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी,नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

दलहरू घरदैलोमा सक्रिय

निर्वाचन नजिकिँदै जाँदा यहाँ राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू सञ्चालन गरिरहेका छन् ।

नेकपा (एमाले)ले वडास्तरदेखि टोलस्तरसम्म छलफल, भेला र बैठक गर्दै संगठनात्मक गतिविधि तीव्र बनाएको जनाएको छ । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई गति दिएको र मतदाता भेटघाटमा व्यस्त रहेको नेका एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । एमालेले जिल्ल बाहिर (पोखरा) मा रहेका मतदाताहरुसँग उम्मेदवारसहितको टोली पोखरामा नै पुगेर मतदाता भेटघाट गरेको जनाएको छ ।

नेपाली कांग्रेसले पनि घरदैलो गरी मतदाता भेटघाट कार्यलाई तीब्र बनाएको छ । रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका केही वडाहरुमा पुगेर मतदाता भेटघाट पछि उम्मेदवार भण्डारी सहित नेपाली कांग्रेसका नेता कार्यकताहरु सोमबार मतदाता भेटघाटका लागि पश्चिम म्याग्दीतर्फ लागेका नेपाली कांग्रेस म्याग्दीका नेता विक्रम बोगटीले बताउनुभयो ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि मतदाता भेटघाट, आन्तरिक भेला, जनवर्गीय संगठनका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरामा रहेका मतदाताहरुसँग भेटघाट गरी जिल्ला फर्केको नेकपाको टोली यतिबेला गाउँका मतदाताहरु भेट्न व्यस्त छ ।

स्वतन्त्र उम्मेदवार डा.महावीर पुन लगाएत अन्य दलका उम्मेदवारहरु पनि मतदाता भेटघाट गरी आफ्ना योजना तथा विचारहरु सुनाउन घरदैलो अभियानमा व्यस्त छन् ।

मुख्य तीन दल र स्वतन्त्र उम्मेदवार पुनबीच प्रतिष्ठाको प्रतिस्पर्धा

म्याग्दीमा कांग्रेस, एमाले, नेकपा, र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को प्र्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा(खम्वीर) ले २४ हजार २१ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार,एक सय ८९ मत प्राप्त गर्नुभएको थियो ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र, एकिकृत समाजवादीलगायतका दलले समेत सर्मथन गरेका थिए । यस पटकको निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिष्ट पाटीलाई स्वतन्त्र उम्मेदवार डा. पुन चुनौतीको रुपमा रहनुभएको स्थानीय मतदाताहरुले बताएका छन् । यसपटक प्रतिस्पर्धा थप चुनौतीपूर्ण हुने आकलन गरिएको छ । यहाँका मतदाताले प्रत्येक निर्वाचनमा स्वविवेकको आधारमा फरक–फरक दललाई अवसर दिँदै आएको देखिन्छ । यही कारण यसपटकको निर्वाचन परिणाम २०७९ भन्दा फरक हुन सक्ने अनुमान गरिएको छ । दलीय प्रतिस्पर्धाको रौनाकता छाइरहेको अवस्थामा एक्कासी स्वतन्त्र उम्मेदवारको रुपमा निर्वतमान शिक्षामन्त्री डा. महावीर पुनले माघ ६ गते मनोनयन दर्ता गरेपछि माहोल रोचक बनेको छ ।

डा. पुन भित्रिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले मैदान छोडेको छ । स्वतन्त्र पार्टीका जिल्ला सभापति युवराज रोकाले पार्टीको सहमतिमा उमेदवारी फिर्ताको घोषणा गरेपनि हालसम्म जिल्ला, प्रदेश र केन्द्रीय समितिले लेडरप्याडमा समर्थनको पत्र सार्वजनिक गरेको छैन । पुराना दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाका लागि स्वतन्त्र उम्मेदवार डा. पुन नै प्रमुख प्रतिस्पर्धी मानिनुभएको छ । म्याग्दीका राजनीतिक दलले डा. पुनको उपस्थिति कल्पनासमेत गरेका थिएनन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

बदलिँदो राजनीतिक परिवेश

२०७९ पछि सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका घटनाले राजनीतिक माहोल बदलिएको छ । युवा मतदाताको सक्रियता, सामाजिक सञ्जालको प्रभाव र नयाँ मतदाताको प्रवेशले २०८२ को निर्वाचनलाई थप चासोपूर्ण बनाएको छ ।

घोषित निर्वाचन मिति नजिकिँदै जाँदा म्याग्दीमा राजनीतिक गतिविधि झन् सक्रिय बन्दै गएको छ । ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्त देखिएको दलीय गतिविधि पुनः पुरानै लयमा फर्किएको स्थानीयहरू बताउँछन् ।


विगतमा झैँ म्याग्दीमा नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको थियो । नेकपा, राष्ट्रि«य स्वतन्त्र पार्टीलेसमेत एमाले र कांग्रेसको पकट क्षेत्र भत्काएर चुनावी माहौल ल्याउने रणनीति बनाइरहेका थिए ।

नेकपा एमालेको २०४६ सालयता बलियो आधार मानिएको अन्नपूर्ण गाउँपालिका ८, राम्चे, नाँगीका स्थायी बासिन्दा हुनुहुन्छ डा.पुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका एमालेको बलियो मत भएको क्षेत्रमा डा. पुनको उपस्थितिले नयाँ तथा पुराना मतदाताहरू उता ढल्किने हुन् कि भन्ने डर नेकपा एमालेलाई छ । अर्कोतर्फ जिल्लाको मगर बाहुल्यता भएको क्षेत्रको मतमा यसपटक स्वतन्त्र उम्मेदवार डा. पुनले ठूला राजनीतिक दलका मतदाताबाटसमेत मत खोस्ने जोखिम छ ।

सम्रगमा जिल्लामा एकल प्रतिस्पर्धामा नेकपा एमाले बलियो रहेको यसअघिको चुनावले देखाउँछ । यसपटक सबैभन्दा चुनौती पनि एमालेलाई नै छ । नेकपा एमालेले एकल वा गठबन्धनसँग भिड्दा समेत २०६४ साल यता १५ हजारभन्दा बढी मत आफ्नो नजिक राखेर अगाडी बढेकाले एकल प्रतिस्पर्धामा दल तथा स्वतन्त्र उम्मेदवार आफ्नो प्रतिस्पर्धी हुन नसक्ने दाबी नेकपा एमालेका नेताहरुको छ ।

यता नेपाली कांग्रेस म्याग्दीले गएको प्रतिनिधिसभाको मत जोगाउँदै नयाँ पुस्ताको मतबाट सजिलै विजय हुने बताइरहेको छ । नेपाली कांग्रेसले निर्वाचनको मुखमा विशेष महाधिवेशन गरेर चुनावमा होमिएपनि देउवा सर्मथक मानिने जिल्ला सभापति गर्बुजाले समेत महाधिवेशनबाट विजय भएका जिल्ला तथा केन्द्रिय नेताहरूलाई बधाई दिएर चुनावी मैदानमा निस्किएकाले नतिजा आफ्नो पक्षमा रहेको दावी गर्ने गरेको छ ।


नेकपाका उम्मेदवार अर्जुन थापालाई प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरी भण्डारीले गरेका विकास निर्माणका कार्यहरू, पार्टीमा थपिएका कार्यकर्तासँगै युवाहरूको जनमतले जित्ने आधार देखिएको बताउँछन् ।

यी तीनवटै ठूला राजनीतिक दलहरुका लागि डा. पुनको (स्वतन्त्र उम्मेदवारी) इन्ट्रि आश्चर्यजनक र चुनावि परिणामका लागि खतरनाक बनेको जिल्लाका स्वतन्त्र नागरिक तथा बुद्धिजिविहरुले बताइरहेका छन् । कतिपयले गाउँमा संगठन नहुँदा र प्रचारप्रसारका लागि अनुभवी कार्यकर्ताहरु परिचालन गर्न सक्दा बलिया दलहरुसँग टक्कर लिन गाह्रो हुने पनि बताइरहेका छन् ।

यस्तो छ निर्वाचनका लागि सरकारी तयारी

आसन्न निर्वाचनका लागि मतदाताको सुरक्षा,मतदान स्थलको निरिक्षण लगाएत आवश्यक सम्पूर्ण तयारीहरु तीब्र गतिमा रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्रहरुमध्ये माघ १९ गते (आइतबार) सम्म एकसय मतदान केन्द्रहरुको अनगुमन तथा निरिक्षण गरेर आवश्यक तयारी गर्न सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य,जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो ।
टोलीले मतदानस्थलको भौतिक पूर्वाधार,सडक,खानेपानी,शौचालय,घेराबार,विद्युत लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार निर्वाचनलाई शान्तिपूर्ण,सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमन गरिएको हो ।

“मतदानस्थलमा पानी,बिजुली,मतपत्र ढुवानीको सहजता,मतदातालाई सुविधा लगाएत समग्र पूर्वाधारको अवस्थाका बारेमा अनुगमन निरीक्षण गरेका छौं” प्रजिअ आचार्यले बताउनुभयो । सबै मतदानस्थलको अनुगमन सकेपछि सुधार गर्नुपर्ने देखिएका मतदानस्थलको तत्काल सुधारको काम पनि थाल्ने योजना बनाएको उहाँले बताउनुभयो ।

निर्वाचन प्रहरी छनोट तथा प्रशिक्षण

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक सुर्यबहहादुर थापाका अनुसार शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरूलाई आवश्यक निर्देशन र प्रशिक्षण दिन सुरु गरिएको छ । निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २८६ जनामध्ये २१२ जना छिमेकी जिल्ला बागलुङमा पठाइएको छ । छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिएको छ ।

निर्वाचनको शान्ति सुरक्षाको ब्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो ।

जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरुको टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदानस्थलमा १२० मतदान केन्द्र कायम भएको छ ।

Leave a Comment