‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मूल नारासहित बिहीबार प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आफ्नो २८औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालले रचनात्मक कार्यक्रम आयोजना गरेर देशैभर स्थापना दिवस मनाउने कार्यक्रम अन्तर्गत म्याग्दीमा पनि दिवस मनाइएको हो ।
स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीको तर्फबाट उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठसँग साक्षात्कार तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ ।

देशैभर अहिले आसन्न निर्वाचनको माहौल बनिरहेको अवस्थामा प्रेस चौतारी म्याग्दीले पनि निर्वाचनलाई लक्षित गरेर जिल्लामा क्रियाशील पत्रकारसँग एमाले उम्मेद्वारको साक्षात्कार गराएको हो । कार्यक्रममा आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धताहरु सार्वजनिक गर्दै एमाले म्याग्दीका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले मुख्य गरेर कानुन निर्माणमा आवश्यक भूमिका खेल्ने बताउनुभयो ।
उहाँले चुनावबाट निर्वाचित हुने सांसद जनताको प्रतिनिधि समेत हुने बताउँदै म्याग्दी जिल्लाको विकास निर्माण तथा म्याग्देली जनताको आशा र अपेक्षा अनुसार का्म गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘समृद्ध म्याग्दी र सुखी म्याग्दीवासी’ बनाउने अभियानमा आफू केन्द्रीत हुने उहाँले जानकारी दिनुभयो ।

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका एमाले उम्मेद्वार श्रेष्ठले आफू संसदमा निर्वाचित भएपछि देशमा मौलाउँदै गएको भ्रष्ट्राचार तथा आर्थिक अनियमिततालाई रोक्न आवश्यक पहल गर्ने बताउँदै समग्र जिल्लाको विकास निर्माण, आर्थिक सुशासन र रोजगारी सिर्जना मुख्य एजेण्डा रहेको बताउनुभयो ।
उहाँले वर्तमान समय विज्ञान र प्रविधिको युग भएकाले अब घरबाटै सरकारी सेवासुविधाहरु अनलाइनमार्फत प्राप्त गर्ने गरी आवश्यक नीति एवं कानुन निर्माणको पहल गर्ने बताउँदै नागरिकलाई प्रत्यक्ष रुपमा रोजगारी तथा उत्पादनसँग जोड्ने गरी आयआर्जन र रोजगारी सिर्जना गर्नेतर्फ जोड दिने बताउनुभयो । वर्तमान समय र परिस्थितिलाई मध्यनजर गरेर नवप्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालनमा जोड दिने बताउँदै उम्मेद्वार श्रेष्ठले म्याग्दीमा अपार सम्भावना रहेको जलविद्युतको विकासमा विशेष पहल गर्ने बताउनुभयो।

उहाँले जिल्लामा जलविद्युतको सम्भावनालाई थप विस्तार तथा विकास गरी स्थानीयस्तरमा नागरिकलाई शेयर प्रदान र लगानीको अवसर एवं रोजगारीका लागि पहल गर्ने बताउँदै जलविद्युतमार्फत जिल्लाको विकास निर्माणमा आवश्यक वातावरण बनाउने बताउनुभयो । एमाले उम्मेद्वार श्रेष्ठले परम्परागत खेती प्रणालीलाई परिवर्तन गरेर अब कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेकोमा जोड दिँदै किसानहरुलाई सहुलियत र अनुदानको व्यवस्था गरेर कृषि उत्पादनको वृद्धि तथा बजारीकरणमा ध्यान दिइने बताउनुभयो । म्याग्दी जिल्ला पर्यटनको हिसाबले पनि प्रचुर सम्भावना रहेको बताउँदै उहाँले नयाँ पर्यटकीय क्षेत्रको खोजी र प्रचारप्रसार तथा बनेका पर्यटकीय गन्तव्यहरुको दीगो विकास गरी रोजगारी सिर्जनामा पहल गर्ने बताउनुभयो ।

पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर अगाडि बढिरहेको बेनी–दरबाङ सडकलाई रुकुम जिल्लासँग जोडेर सडकको स्तरोन्नति र विकासमा जोड दिने उहाँको भनाइ छ । सोही कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले स्मार्ट म्याग्दी बनाउने उद्देश्यसहित एमाले आसन्न निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा नेकपा एमालेले विकास निर्माणको अगुवाई गरेको बताउँदै यसअघि एमालेको पहलमा सुरु भएका विकास निर्माणका कामलाई अब पूर्णता दिनको लागि पुनः एमाले र एमालेका उम्मेद्वारहरुले जित्नुपर्ने बताउनुभयो । उहाँले एमाले २०७९ सालमा सम्पन्न निर्वाचनमा हारेपनि सधैँ म्याग्देली जनताको साथमै रहेको भन्दै आउँदो निर्वाचनमा पनि नेकपा एमाले र एमालेका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

२०५१ सालबाटै देशमा एमाले नेतृत्वको सरकारले विकासको जग बसालेको हुँदा आउँदो निर्वाचनमा पनि एमालले जित्नुको विकल्न नभएको उहाँको भनाइ थियो । प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता एवं स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न साक्षात्कार तथा अन्तत्र्रिmया कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य प्रकाश कार्की, एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठ, बेनी नगरपालिका कमिटी अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।









