प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेसको उम्मेदवार बनेका कर्णबहादुर (केबी) भण्डारीले म्याग्दी जस्तो जिल्लालाई बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने गरी पहुँचको आधारमा विकास निर्माणका आयोजना छनोट हुने परम्परागत शैलीलाई भत्काउने बताउनुभएको छ । मतदातको घरदैलो अभियानको क्रममा दलका नेता, सत्तामा रहेकाहरूबाट आफ्नो क्षेत्रमा बजेट केन्द्रित गर्ने तीतो यर्थातलाई आफुँ प्रतिनिधिसभा सभामा पुगेपछि तोडेरै छोड्ने बताउनुभयो ।
म्याग्दी हिमाली जिल्ला घोषणा भएपनि बजेटको प्राथमिकतामा नपरेको,राजनीतिक पहुँचका अधारमा विकास निर्माणका आयोजना छनोट हुदाँ जिल्लामा आवश्यक पर्ने धेरै योजनाहरूमा अपेक्षा गरेअनुसार बजेट भित्राउन नसकिएको अवस्थालाई तोड्न दुर्गम तथा सबै जिल्लालाई समानुपातिक रुपमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

‘यसअगाडी म्याग्दीबाट प्रतिनिधित्व गर्नुभएका सांसदहरूको प्रयासलाई सम्मान छ, बजेट पहुँचको आधारमा होइन, सबै जिल्लालाई समान आउने लडाईलाई सफलता दिन आवश्यक छ’ पार्टी जिल्ला उपसभापति समेत रहेका उम्मेदवार भण्डारीले भन्नुभयो ।
संघीय बजेट विनियोजन गर्दा जनताको मागलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले म्याग्देली जनतालाई विकास निर्माण सहित आफ्नो प्रतिबद्धतालाई क्यालेन्डर नै बनाएर काम गर्ने बताउनुभयो ।

म्याग्दीका सबै ६ वटै स्थानीय तहको चुनावी अभियानमा उम्मेदवार भण्डारीले सदनमा कानुन बनाउनेदेखि जिल्लाका साना, ठूला समस्या समाधानमा निरन्तर खटिने बताउँदै मतदातालाई एकपटक यसैपटक अवसर दिन समेत अनुरोध गर्नुभएको छ । काठमाण्डौंमा प्राविधिको अनसन्धान र खोजीमा विताएको अनुभव तथा जिल्लाबासीको भोग्दै आएका समस्या समाधानका लागि अनुभब, अवसर तथा सहकार्यलाई एकसाथ लैजाने बताउनुभयो ।
बि.स २०६६ सालमा नेपाल नागरिक उड्यन प्राधिकरण बोर्डको सदस्य, बि.स २०६३ सालदेखि नेपालका चर्चित वैज्ञानिकद्धय राम र लक्ष्मण रिमाललाई साथमा लिई भोटिंग मेसिनदेखि घरायसी सुरक्षाका उपकरणहरु बनाउन लगानी गरेसँगै स्मार्ट प्रविधिमा धेरै अन्तराष्ट्रियस्तरको काम भइरहेको बताउनुभयो ।
बि.स २०७९ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्वीर) लाई जिताउन निर्वाचन परिचालन समितिको संयोजक समेत भएर काम गर्नुभएको थियो । नेपाली कांग्रेस बलियो भएमात्रै नेताकार्यकर्ताको मनोबल उच्च हुने बताउँदै आएका भण्डारीले यसपटकको निर्वाचनमा मतदातालाई घरदैलोमा भेट्ने अभियानलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ।









