---Advertisement---

खबराका सुवासलाई आमाको नामबाट नागरिकता प्रदान

On: February 10, 2026 8:21 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-२ खबराका सुवास घिमिरेले २७ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले घिमिरेलाई नागरिकता प्रदान गर्नुभएको हो । बुवाको पहिचान नभएका घिमिरेले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन् । १६ वर्षको उमेर हुँदादेखि गरेको प्रयास सफल भएकोमा घिमिरेले खुसी व्यक्त गर्नुभयो ।

अनुकुल नियम नहुँदा सुवासले आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन् । सुवासलाई उहाँकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । नागरिकताका लागि सुवासले तीन वर्षअघि सबै प्रक्रीया पुरा गरेर आवेदन पेश गर्नुभएको थियो । नागरिकता ऐन, २०६३ को दोस्रो संसोधन २०८२ तथा नियमावलीको चौथो संसोधन २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महशुस गरेको सुवासले प्रतिक्रिया दिनुभयो । शारिरिक अपाङ्गता समेत भएका सुवास सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाट बञ्चित हुनुभएको थियो । रोजगारिको अवसर र बैंक खाता सञ्चालन गर्न नपाउदा सुवासको दैनिकी असहज भएको थियो ।

सुवास र उनकी आमा कमला आफन्तको घरमा आश्रय लिएर बस्नुभएको छ । उहाँहरुको आफ्नै घर छैन् । सुवास कमलाका कान्छा छोरा हुन् । हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले भने नागरिकता बनाएका छन् । साइला छोरा अझै नागरिकता बिहिन छन् ।

नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि बेनीका मिर खान, यास्मीन बेगम र मालिका गाउँपालिका–५ देविस्थानकी सिमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो । थप केही सेवाग्राहीहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि आवेदन पेश गरेका छन् । प्राप्त भएको आवेदनको छानविन र आवश्यक प्रक्रीया पुरा गरेर नागरिकता प्रदान गरिने सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

Leave a Comment