नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका १ नम्बर वडा दोवा, २ नम्बर वडाको भूरुङ, ठूलोबगर, ४ नम्बर वडा नारच्याङ र घरापमा घरदैलो गरिएको हो । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एमालेले जिल्लामा चुनावका गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
यसअघि रघुगंगा, बेनी नगरपालिका, मंगला र मालिकामा निर्वाचन अभियान अन्तर्गत घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको एमालेले मङ्गलवारदेखि अन्नपूर्ण गाउँपालिकामा चुनाव केन्द्रीत कार्यक्रमलाई अगाडि बढाएको जनाएको छ । अन्नपूर्णको विभिन्न टोल र वस्तीमा पुगेर नेताहरु तथा उम्मेद्वारहरुले घरदैलो तथा मतदाताहरुसँग भेटघाट गरी एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । घरदैलो र मतदातासँगको घेटघाटमा म्याग्दी जिल्लामा विकासको जग नेकपा एमालेले बसालेको बताउँदै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले विकासको पहरेदार एमाले पार्टी र एमालेका उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन अनुरोध गर्नुभयो ।

उहाँले जिल्लाको विकास र जनमुखी कार्यक्रमहरु ल्याउनको लागि एमालेलाई जिताउनुपर्ने बताउनुभयो । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका उम्मेद्वार श्रेष्ठले ‘समृद्ध म्याग्दी, सुखी म्याग्देली’ बनाउने, पर्यटन र जलविद्युतको विकास, कृषिको आधुनिकीकरण, स्थानीय स्रोतसाधनको परिचालन गरी रोजगारी सिर्जनालगायत आफ्नो चुनावी एजेण्डाहरु रहेको जानकारी दिनुभयो।
म्याग्दी जलविद्युत र पर्यटनमा प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले ठोस योजनासहित आफूले समृद्ध म्याग्दीको परिकल्पना समेत गरेको बताउँदै उहाँले सबै वडाको टोल र वस्तीस्तरमा सडक पु¥याएर स्तरोन्नति गर्ने, किसानहरुलाई सहुलियत दिन विभिन्न कार्यक्रमहरु ल्याउने, नयाँ पर्यटकीय गन्तव्यको विकास गरेर रोजगारको सिर्जना गर्ने, बाँझो जग्गालाई उत्पादनमा ल्याउनका लागि पहल गर्ने जस्ता योजनाहरु सुनाउनुभएको थियो ।

सोही कार्यक्रममा मतदाता भेटघाट तथा घरदैलो गर्दै एमाले म्याग्दीबाट समानुपातिक उम्मेद्वार बन्नुभएकी पूर्वमन्त्री नरदेवी पुनले आफू मन्त्री र सांसद भएको समयमा जिल्लाको विकासका लागि धेरै कामहरु गरेकाले बाँकी काम गर्नका लागि आफूलाई विजयी गराउन एमालेको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा बनेका सरकारहरुमध्ये सबैभन्दा धेरै विकास एमालेको पालामा भएको उल्लेख गर्दै आउँदो निर्वाचनमा एमालेलाई विजयी गराउनुको विकल्पन नभएकोमा जोड दिनुभयो ।
उहाँले जिल्लाको समग्र विकासको साथमा पछाडि परेका समुदायको उत्थान गर्ने, शिक्षाबाट वञ्चित नागरिकहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउने, विपन्न समुदायलाई आयआर्जनमा जोड्ने जस्ता योजनाहरु रहेको बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले हिमाली जिल्लामा सूचीकृत म्याग्दीलाई ‘स्मार्ट म्याग्दी’ बनाउने सङ्कल्पका साथ एमाले निर्वाचनमा होमिएको बताउँदै जिल्लाको विकास निर्माणमा एमालेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एमाले पार्टी निर्वाचन हार्दा समेत सधैँ म्याग्देली जनताकै साथमा रहेकाले आउँदो निर्वाचनमा एमालेको पक्षमा मतदान गरेर एमाले उम्मेद्वारलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले म्याग्दीका उपसचिव खड्ग गिरीको पनि विशेष उपस्थिति रहेको थियो ।










