नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा कसैसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् । बुधबार नेकपा म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको निर्वाचनलक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो सार्मथ्यका साथ पहिलो शक्ति बन्ने बताए ।

नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरूसँग चुनावलक्षित कुराकानी हुने गरे पनि तालमेलका प्रस्तावलाई चासो नदिएको संयोजक प्रचण्डले बताए । तालमेल नगरी सबैभन्दा बढी सिट जित्ने प्रचण्डको दाबी छ । “विचार र राजनीतिक मुद्दाको आधारमा चुनावमा होमिएकाले देशभर महोल हाम्रो पक्षमा छ,” संयोजक प्रचण्डले भने ।

राजनीतिक दलमा नाम, चुनाव चिह्नले नेपाली कम्युनिस्ट पार्टी मात्रै देशको नयाँ पार्टी भएको बताए । “सामाजिक सञ्जालमा नयाँ भनेर स्टन्ड गदै जनतामा भ्रम छरेको देखिन्छ, गणतन्त्र, संघियता, समावेशी, समानुपातिकको मुद्दा बोक्ने मात्रै नयाँ हुन्छ,” संयोजक प्रचण्डले भने ।
जेनजी आन्दोलपछि संघीयता र गणतन्त्रको रक्षाका लागि आफ्नो नेतृत्वमा देशलाई दुर्घटना हुनबाट जोगाएको प्रचण्डको जिकिर थियो । प्रचण्डले भ्रष्टाचारको पक्षधरसँग चुनावमा गठबन्धन नगरी अगाडि बढेको अवस्थामा जेनजी पुस्ताबाट समेत सहयोग मिलेको बताए ।

आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कुनै पनि हालतमा नसर्ने र एकैपटक देशभर सञ्चालन हुने बताए । घर–घरमा पुगेर पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रसहित सरकारको नेतृत्वमा हुँदा गरेका राम्रा कामहरूको मसिनो ढंगले मतदातालाई बुझाउन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।

प्रचण्डले पश्चिम म्याग्दी हुँदै रुकुम जोड्ने बेनी–दरबाङ–जलजला सडकलाई मध्यपहाडी लोकमागको वैकल्पिक मार्ग बनाउने, सिंगा तातोपानी, पौलस्य पुलह आश्रम क्षेत्रसहित जिल्लाका आवश्यकता पूरा गर्न प्रतिनिधिसभा सदस्यमा अर्जुन थापालाई विजय बनाउन समेत मतदातालाई अपिल गरेका छन् । आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले हुने दाबी समेत गरे ।

देशभर नेकपाको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएको भन्दै अब केही हप्ता मेहनत गरेको खण्डमा एक नम्बरको पार्टी बनेर सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको प्रचण्डको भनाइ छ । निर्वाचनमा नेकपालाई कमजोर बनाउन डिजिटल प्रविधिको प्रयोग गरी मिथ्या सूचना प्रचार भइरहेको बताउँदै प्रचण्डले नेताकार्यकर्तालाई खण्डनसहित सत्य र तथ्य सूचनालाई मात्रै विश्वास गर्न अनुरोध गरे।









