---Advertisement---

म्याग्दीमा कर्मचारीलाई आचारसंहिता पालनमा कडाई, सामाजिक सञ्जालको पनि निगरानी हुने

On: February 11, 2026 10:47 PM
Follow Us:

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन म्याग्दीमा निजामति कर्मचारीलाई आचारसंहिता पालनमा कडाई गरिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यको कार्यालय प्रमुखहरुको बैठकमा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारी कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले ‘निर्वाचन आचारसंहिता २०८२’ को पूर्णपालना गर्न निर्देशन दिनुभएको छ ।


सरकारी कर्मचारीलाई कुनै पनि तरिकाले निर्वाचनको प्रचारप्रचारमा सहभागी हुन प्रतिबन्ध लगाएकाले नेपाल सरकारको सुविधा लिने कर्मचारीले व्यक्तिगत फेसबुक लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गरी निर्वाचन लक्षित पोष्ट सेयर, लाइक कमेन्ट गर्ने, दलिय कार्यक्रममा सहभागि हुने, भोट माग्ने लगायतका गतिविधि गरेमा कानूनको दायरामा ल्याउने प्रजिअ आचार्यले बताउनुभएको छ । ‘जिल्ला निर्वाचनमय भएको छ, हामीले के गर्ने भन्ने आचांरसंहितामा छ, सबैले पालना गर्नुहोला, अनुगमनमा गल्ती भेटिए कारवाही हुन्छ‘ प्रजिअ आचार्यले भन्नुभयो ।


म्याग्दीमा निर्वाचनसम्बन्धि गतिविधिमा संलग्न भएको भन्दै यसअगाडी समेत कर्मचारीलाई सचेत बनाइएको थियो । कार्यालय प्रमुखको बैठकमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र सार्वजनिक पद धारण गरेकालाई सहायक प्रजिअ कुलप्रसाद आचार्यको संयोजकत्वमा रहेको अनुगमन समितिबाट समेत अनुगमनलाई कडाई गरिएको छ । सार्वजनिक पद धारण गरेकाले कुनै दल विषय वा उम्मेदवारलाई सघाउने गरी गरेको सहयोग तथा सामाजिक सञ्जालमा लाइक कमेन्ट गर्नु पनि एक प्रकारले निर्वाचनको पक्ष वा विपक्षमा उभिनु भएकाले बैठकमार्फत गरिएको निर्णय सबै कार्यालय प्रमुखमार्फत बैठक राखेर कर्मचारीमा पुग्ने सहायक प्रजिअ आचार्यको भनाई छ ।


बैठकमा मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापा, सुरक्षा समितिका सदस्य लगायत कार्यालय प्रमुखको उपस्थिती रहेको थियो । बैठकले निर्वाचन प्रयोजनार्थ जिल्ला निर्वाचन कार्यालयमार्फत जनशक्ति व्यवस्थापन समितिबाट माग भए बमोजिम कर्मचारीहरूको नामावली सहितको अद्यावधिक विवरण पलब्ध गराउने,सार्वजनिक निकाय, सरकारी कार्यालय तथा विद्यालय लगायतका स्थानमा निर्वाचन प्रचारप्रसारका लागि अनुमतिन नदिने, अटेर गरेमा कानुनी दायरामा ल्याउन समन्वय गर्ने लगायतका विभिन्न निर्णय गरिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । बैठकमा सहभागि कार्यालय प्रमुखले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउने तथा आवश्यक समन्वयलाई थप प्रभवकारी बनाउने प्रतिबद्धता जनाएका थिए ।

Leave a Comment