---Advertisement---

म्याग्दीको दलगत राजनीतिमा एक्ला ‘स्वतन्त्र’ महावीर पुनलाई कति चुनौती ?

On: February 12, 2026 5:34 PM
Follow Us:

वैज्ञानिक महावीर पुन यतिबेला म्यादीबाट स्वतन्त्र उमेदवारका रूपमा चुनावी मैदानमा छन् । जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका पुन एकाएक राजनीतिमा खुले । उनले माघ ४ गते प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो मन्त्री पदबाट राजीनामा पठाएर ६ गते बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ताका लागि पुगे । 

ग्रामीण विकास, सूचना प्रविधि र विज्ञान प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष पुनको राजनीतिक यात्रा म्याग्देलीले कल्पना गरेका थिएनन् । अहिले पुन चुनावमा होमिएपछि उनको गृहजिल्ला म्याग्दी पनि चर्चामा छ । 

तर, धेरैको चासो छ, पुनले जित्छन् कि जित्दैनन् ? जिल्लामा रहेका परम्परागत राजनीतिक पार्टी जस्तो सांगठनिक संरचना प्रभावकारी नभए पनि करिब तीन सातामा पुन आफू चुनावी अभियान लिएर म्याग्दीका सबै स्थानीय तहका ग्रामीण भेगसम्मै पुगिसकेको बताउँछन् । 

वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनार्थ पुन आफैँले लेखेको पुस्तक बिक्री गर्दै जिल्लाजिल्ला हिँडिरहेका थिए । त्यहीबेला फ्याट्ट मन्त्री बने । उनै पुनलाई उमेदवारका रूपमा पाएका मतदाताले पनि रुचिपूर्वक सुन्ने गरेका छन् । उनले दलप्रति मतदातामा रहेको असन्तुष्टिलाई मतमा बदल्न सक्दो प्रयास गर्ने गरेका छन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नाँगीमा जन्मिएर ताररहित इन्टरनेटमार्फत डिजिटल साक्षरता अभियानमा प्रवेश गरेका पुनलाई अहिले सामाजिक सञ्जाल तथा मैदानमा समेत स्वागत भइरहेको छ । 

त्यसो त म्याग्दीमा पुनको देखिने पडक क्षेत्र छैन । तर, पनि विगतमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा, राप्रपाजस्ता दलमा मतदान गरेका मतदाताको मत तान्न र पहिलोपटक मतदान गर्नेहरूलाई आफ्नो पक्षमा पार्ने पुन प्रयासमा छन् । 

म्याग्दीमा पुनले एमाले, कांग्रेस वा नेकपामध्ये कसको मत बढी काट्लान् भन्ने लेखाजोखा हुन थालेको छ । विगतमा गठबन्धनबाट उमेदवारी दिने सबै दलका यसपटक आआफ्नै उमेदवार छन् । 

एमाले, कांग्रेस र नेकपाको पकड क्षेत्रमा आफ्नो जनमत कति जोगाउन सक्छन् भन्ने बहससमेत दलभित्र उठेको छ । दलले आफ्ना स्थानीय कार्यकर्तामार्फत मतदातालाई रोक्न नसक्ने अवस्थामा भोट ‘ट्रान्सफर’को ठूलो जोखिम देखिन्छ ।

मतदानको दिनसम्म मतदाताको आर्कषण कसको पोल्टामा पर्छ भन्नेले नै नतिजा निर्धारण गर्ने हो । कांग्रेसले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको अवस्थामा जेनजी पुस्ताको मत तान्ने, एमालेले अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धनसँग एक्लै भिड्दासमेत २० हजारभन्ँदा बढी मत ल्याएको र नेकपाका दुईवटा प्रदेशसभा सदस्य भएको अवस्थामा आफ्नो जनमतको संरक्षणमा गर्न सकेमा निर्वाचन अत्यन्त पेचिलो बन्ने निश्चित छ । दलीय प्रतिस्पर्धाभन्दा यसपटकको चुनावको दृष्य केही फरक छ । 

यसपटक जेनजी आन्दोलनसँगै राजनीतिक दल, सत्तामा हुदाँ गरेका गतिविधिबाट नागरिकको असन्तुष्टि र आक्रोशको जवाफ सुधारबाटै दिनुपर्ने भएकाले पुनलाई समेत दलको मत खोसेर जित्न सहज पक्कै छैन । 

०५१ सालदेखि यता जिल्लामा एकल वा गठबन्धन हुदाँ समेत नेकपा एमालेको बलियो मत, नेपाली कांग्रेसमो थपिएको मत र नेकपा लगायत अन्य दलहरूको समेत प्रतिस्पर्धाले मतदानको करिब एकसाता अगाडीसम्मको पर्ख र हेरको अवस्थामा रहेको जानकारहरु बताउँछन् ।

“दलप्रति एक किसिमको असन्तुष्टि छ, नयाँ मतदाताले देशभरि विकल्प खोजिरहेका छन्, त्यसको प्रभाव म्याग्दीमा पनि यसपटक पर्छ,” नागरिक समाज म्याग्दीका सभापति सुर्दशनकुमार श्रेष्ठ भन्छन् । उनले परम्परागत राजनीति गर्दै आएका दलहरूको सोच र शैलीमाथि प्रहार भइरहेको उनको भनाइ छ । 

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उमेदवार चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट हरिकृष्ण श्रेष्ठ, कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा उमेदवार बनेका छन् । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेकपा (माओवादी)बाट क्षेत्रबहादुर घिमिरे, मंगल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामा पनि चुनावी प्रतिस्पर्धामा छन् । 

साथै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन उमेदवार बनेका छन् । 

Leave a Comment