---Advertisement---

अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिता हुँदै

On: February 12, 2026 8:13 PM
Follow Us:

नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४९औँ स्मृति दिवसको अवसर पारेर बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा तथा नेपाल मगर संघ जिल्ला कार्यसमिति म्याग्दीको समन्वयमा उक्त प्रतियोगिता आगामी फागुन २ गते बिहान १० बजेदेखि बेनी नगरपालिका–८ स्थित मगर संघको सभाहलमा सञ्चालन गरिने भएको हो ।

नेपाल मगर विद्यार्थी संघ म्याग्दीका सचिव साजन पुन मगरका अनुसार जिल्लाभित्रका एक नगरपालिका र पाँच गाउँपालिकामा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूमा लुकेर रहेका कला, प्रतिभा र सिर्जनशील क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई आफ्नो मौलिक संस्कृति, भेषभूषा, भाषा र परम्परागत लोकनृत्यप्रति अभिरुचि जगाउने र पहिचानप्रति गर्व गर्ने वातावरण सिर्जना गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको सचिव पुनले बताउनुभयो ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन् । सहभागीहरूले लोकसंस्कृतिमा आधारित गीतमा समूहगत नृत्य प्रस्तुति दिनुपर्नेछ भने प्रस्तुति समय अधिकतम ६ मिनेट तोकिएको छ । प्रतियोगितामा समूहगत सहभागिता अनिवार्य गरिएको आयोजकले जनाएको छ ।

प्रस्तुतीकरणमा मौलिक भेषभूषा, नृत्यकला, तालमेल, सन्देश र समग्र प्रभावकारितालाई आधार मानेर निर्णायक मण्डलले मूल्याङ्कन गर्ने तयारी गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थी समूहलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रथम हुने समूहलाई नगद रु। १५,०००, ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु। १०,००० र प्रमाणपत्र, तृतीयलाई नगद रु। ७,००० र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै सान्त्वना पुरस्कारस्वरूप नगद रु। २,००० र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । नाम दर्ताको अन्तिम मिति फागुन १ गते बेलुका ५ बजेसम्म तोकिएको छ भने दर्ता शुल्क रु। १,००० निर्धारण गरिएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले हरेक वर्ष क्याप्टेन लखन थापा मगरको स्मृतिमा दीप प्रज्वलन कार्यक्रमसहित विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

क्याप्टेन लखन थापा मगरलाई नेपालको प्रथम शहीदका रूपमा सम्मान गरिन्छ । राणा शासनविरुद्ध विद्रोह गरेको अभियोगमा उहाँलाई वि।सं। १९३३ फागुन २ गते मृत्युदण्ड दिइएको थियो । नेपाल सरकारले लखन थापा मगरलाई वि.सं. २०७२ असोज ३ गते नेपालको प्रथम सहिद घोषणा गरेको थियो । उहाँको योगदानलाई स्मरण गर्दै देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएको छ।

म्याग्दीमा भने विद्यार्थी लक्षित सांस्कृतिक कार्यक्रममार्फत उहाँको स्मृतिलाई जीवित राख्ने प्रयास गरिएको आयोजकले जनाएको छ । यसैबीच, फागुन १५ गते मनाइने मगर एकता दिवसको अवसरमा पनि नेपाल मगर संघ म्याग्दीले विविध सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Leave a Comment